काठमाडौंका मेयर बालेनले कानूनी राज्यको उपहास गरेको सडक डिभिजनको ठहर
काठमाडौं । काठमाडौं महानगरपालिकाले शनिबार आफ्नो कार्यलय प्रवेशद्वारमा फोहोर फालेको भन्दै सडक विभाग अन्तर्गत रहेको सडक डिभिजन काठमाडौंले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
सडक डिभिजन काठमाडौंले शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै मिनभवन स्थित कार्यालयको गेटमा महानगरपालिकाको मिनी टिप्परबाट कार्यालय परिसर छिर्न समेत अवरोध हुने गरी फोहोर फालिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको बताएको हो । डिभिजनको गेटमा देशकै ठूलो तथा जिम्मेवार स्थानीय सरकारबाट कानूनी राज्यको उपहास हुने गरी बलमिच्याई तथा अराजक शैलीबाट भएको यस किसिमको व्यवहारले महानगरको गरिमा कदापि नबढ्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘काठमाडौं महानगरपालिककाको मिनि टिप्परबाट कार्यालय परिसर छिर्न समेत अवरोध हुनेगरी फोहोर फालिएको विषयले सडक डिभिजन काठमाडोंको गम्भिर ध्यानाकर्षण भएको छ । काठमाडौं जिल्लाभित्रका सडक निर्माण तथा मर्मत सम्भारको महत्वपूर्ण जिम्मेवारी पाएको यस सडक डिभिजनको गेटमा देशकै ठूलो तथा जिम्मेवार स्थानिय सरकारबाट कानूनी राज्यको उपहास हुने गरी बलमिच्याई तथा अराजक शैलीबाट भएको यस किसिमको व्यवहारले महानगरको गरिमा कदापि नबढ्ने विषय छर्लंग छ- जारी विज्ञप्तिमा भनिएको छ।’
त्यस्तै, जथाभावी सडक काट्न रोकेपछि बालेनले डिभिजनसँग सरोकार नै नभएको विषयलाई कारण बनाई कानूनी राज्यको उपहास गरेको जारी विज्ञप्तिमा उल्लेख गरिएको हो ।
‘मिति २०८१/०२/११ गते शुक्रबार काठमाडौं महानगरपालिकाका मेयर तथा यस डिभिजनका डिभिजन प्रमुखबीच महानगरभित्रका सडक सुधारका विविध विषयमा छलफल भई नियम बमोजिम सहकार्य गरेर अगाडि जाने तथा साझा धारणा बनाई महानगर भित्रका सडक सुन्दर तथा व्यवस्थित बनाउने विषयमा छलफल भएको थियो। साथै यस अघि महानगरपालिकाबाट नियमबमोजिम यस डिभिजनमा सडक काट्न माग भई आएका सबै अनुमती दिइएको समेत जानकारी गराईन्छ । आज मिति २०८१/०२/१२ गते शनिबार करिब १२ बजे न्यूरोड क्षेत्रमा यस डिभिजनको जिम्मामा रहेको सडकमा विना अनुमति सडक काटी सडकको चौडाई घटाउने कार्यमा महानगरपालिका लागेको बखत बिना अनुमति सडक काटेर साघुरो बनाउन नहुने भनि सडक डिभिजनबाट सोही कार्यमा रोक लगाईएको विषयलाई विषयान्तर गरी डिभिजनसँग सरोकार नभएको विषयलाई कारण बनाई गरिएको यस किसिमको व्यवहारले कानूनी राज्यको उपहास गरेको ठम्याई यस सडक डिभिजनको रहेको छ-जारी विज्ञप्तिमा भनिएको छ ।
यसअघि शनिबार मेयर बालेन्द्र साह (बालेन)ले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई धुलो उपहार पठाउनुभएको हो। महानगरले शनिबार साँझ ‘एक ट्रक धुलो उपहार’ भन्दै विभागको कार्यालय अघि धुलो खन्याएको थियो ।
विगत १५ वर्षदेखि काठमाडौंका जनताले कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट व्यहोर्नुपरेको मेयर साहको भनाइ छ ।