क्यानद्वारा महिला क्रिकेट एशिया कप खेल्ने २८ खेलाडीको प्रारम्भिक टिम घोषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार एशिया कप महिला क्रिकेट प्रतियोगितामा भाग लिने खेलाडीको छनोटको लागि २८ खेलाडीको प्रारम्भिक टिम घोषणा गरेको छ ।
आगामी जुलाई १९ देखि जुलाई २८, २०२४ सम्म श्रीलंकाको डाम्बुलामा महिला एशिया कप हुने भएको हो । प्रारम्भिक टिममा इन्दु बर्माको कप्तानीमा २८ खेलाडी छानिएको र क्लोज क्याम्पबाट अन्तिम टिम छानिने क्यानले जनाएको छ ।
क्लोज क्याम्पका लागि छानिएका खेलाडीमा इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सिता राना मगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ, पूजा महतो, डोली भट्ट, बिन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, राजमती ऐरी, सबनम राई, रुबी पोडार, खुशी डंगोल, लक्ष्मी साउद, अलिशा खदिया, अप्सरा बेगम, करुणा भण्डारी, अश्मिना कर्माचार्य, संगीता राई, आरति महतो, सावित्री धामी, यशोदा विष्ट, सोनी पाख्रिन र हेलिशा गुरुङ रहेका हुन् ।
महिला एशिया कप जुलाई १९ देखि जुलाई २८, २०२४ सम्म श्रीलंकाको डाम्बुलामा हुने तय भएको छ । प्रतियोगिताको यस संस्करणमा ८ देश सहभागी हुने भएका छन् । भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशसहित एसीसीले महिला प्रिमियर कप २०२४ को सेमिफाइनल पुग्ने युएई, मलेसिया, नेपाल र थाइल्याण्डलाई एशिया कप खेल्न दिने निर्णय गरेको थियो ।
एशिया कपमा नेपाल समूह 'ए' मा रहेको छ । नेपाल भारत, पाकिस्तान र युएईसँगै समूह 'ए' मा रहेको हो । समूह 'बी'मा भने बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन् । नेपालले आफ्नो पहिलो खेल एसिया कपको उद्घाटनकै दिन जुलाई १९ तारिखमा पाकिस्तानविरुद्ध खेल्ने भएको हो ।
दोस्रो खेल जुलाई २१ तारिखमा युएईविरुद्ध र तेस्रो खेल जुलाई २३ तारिखमा भारतविरुद्ध खेल्ने तालिका एसीसीले सार्वजनिक गरेको छ ।