अबदेखि महिला ट्राफिक प्रहरी महिनावारी हुँदा ४ दिन बिदा दिने: गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मंगलबार १७ औं गणतन्त्र दिवसको अवसरमा अनौठो नियमको शुरुवात गर्नुभएको छ ।
१७ औं गणतन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश दिंदै उहाँले ‘एउटा सानो प्रयास’ नाम दिएर अनौठो नियम ल्याउनुभएको हो । गृहमन्त्री लामिछानेले अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारी भएको समयमा ४ दिनसम्म सडकमा ड्युटी गर्न जानुनपर्ने नियम लागू गर्नुभएको छ ।
महिला ट्राफिक प्रहरीहरूलाई महिनावारीका क्रममा आराम दिएपछि त्यसको विकल्पमा मापसेमा परेकाहरूलाई खटाउने उहाँले योजना ल्याउनुभएको हो । तर सोही नियम कुन तहको निर्णयबाट लागू गरिएको भन्ने बोरमा भने गृहमन्त्री लामिछानेले खुलाउनुभएको छैन ।
गृहमन्त्रीस्तरीय या मन्त्रिपरिषद तथा अन्य निकाय कहाँबाट यो नियम पारित गरिएको उहाँले जानकारी गराउनुभएको छैन । यदि यो निर्णय गृहमन्त्री लामिछानेको व्यक्तिगत भएमा उहाँ गृहबाट हट्ने बित्तिकै निरन्तरता पाउन नसक्ने अवस्था हुन सक्छ । नीतिगत निर्णय भएको अवस्थामा उहाँले लगाएको सोही नियम दीर्घकालीन हुने देखिन्छ ।
उहाँले सामाजिक संजाल फेसबुकमा मंगलबार यस्तो लेख्नुभएको छ,-‘अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारीका ४ दिन सडकमा ड्युटी गर्नु पर्दैन । ‘मादक पदार्थ सेवनपछि सवारी चलाउँदा कारबाहीमा परेकाहरू लगायत ट्राफिक नियमको उलंघन गर्नेले स्वयम सेवकका रुपमा महिला ट्राफिक प्रहरीको साट्टो सडकमा सघाउनु हुनेछ।’