सहकारी प्रकरण: टीओआरलाई अन्तिम रूप दिन आज कार्यदलको बैठक बस्दै
काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनका लागि कार्यादेश (टीओआर) तयार गर्न गठित कार्यदलको बैठक मंगलबार बस्ने भएको छ ।
मंगलबार बिहान ११ बजे सिंहदरबारस्थित कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्ने बैठकले सत्ता पक्ष र प्रतिपक्षबीच सोमबार भएको सहमतिलाई अन्तिम रुप दिने भएएको हो। कार्यदलमा सहमति भए मंगलबारबाट सदनका नियमित कामकारबाही निर्वाध रूपमा अगाडि बढ्ने भएको छ ।
सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच सोमबार सहकारी ठगी प्रकरण छानबिनका लागि ७ सदस्यीय संसदीय समिति गठन गर्ने सहमति भएको हो । सोही समितिमा ५ दलका प्रतिनिधि रहने समझदारी बनेको छ । जसमा नेपाली कांग्रेस र नेकपा एमालेका २–२, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट १–१जना सदस्य रहने भएका छन् ।
दलहरुबीच सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख नगर्ने तर उहाँ संलग्न सहकारी तथा कम्पनीको नाम उल्लेख गरी छानबिन गर्ने समझदारी बनेको हो ।