आइभोरी कोस्टलाई अफ्रिका कपको उपाधि
नाइजेरियालाई हराउँदै आयोजक आइभोरी कोस्टले अफ्रिका कप अफ नेसन्सको उपाधि हात पारेको छ । आइतबार भएको खेलमा आइभोरी कोस्ट गोलले पछि परेको स्थिति उल्टाउँदै २–१ ले विजयी भएको हो ।
विलियम ट्रुस्ट इकोङले खेलको ३८ औँ मिनेटमा नाइजेरियालाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको ६२ औँ मिनेटमा फ्रांक केसीले अडिंग्राको कर्नरलाई गोलमा परिणत गर्दै खेल बराबरी गरे ।
८१ औँ मिनेटमा सबास्टियन हालेर पुनः एकपटक नायक बन्दै टोलीलाई जीत दिलाए । उनी अण्डकोषको क्यान्सरपछि १३ महिनाअघि मात्र फुटबलमा फर्किएका हुन् । उनले सेमिफाइनलमा पनि विजयी गोल गरेका थिए ।