विश्वकप फुटबल छनोटका लागि नेपाली टोलीको घोषणा
अखिल नेपाल फुटबल संघ एन्फाले विश्वकप छनोटको प्रारम्भिक चरणको खेलका लागि २३ सदस्यीय टोली घोषणा गरेको छ ।
नेपालले प्ररम्भिक चरणको पहिलो लेग भोलि बिहीबार दशरथ रंगशालामा लाओसविरुद्ध खेल्दै छ । यो खेल बेलुकी साढे ५ बजे सुरु हुने छ ।
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसेले नयाँ खेलाडी अमृत श्रेष्ठ र सञ्जीव विष्टलाई समेट्दै २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।
हिमालयन शेर्पा क्लबका डिफेन्डर अमृत श्रेष्ठ र न्यूरोड टिमका फरवार्ड सञ्जीव विष्ट पहिलो पटक राष्ट्रिय टोलीमा प्रवेश गरेका हुन् ।
बन्द प्रशिक्षणमा रहेका २५ खेलाडीबाट अन्तिम टोली छनोट गरिएको हो । गोलकिपर अनिल देउला र डिफेण्डर छिरिङ लामा भने टिममा अटाएनन् ।
छिरिङ यसअघि म्यानमार विरुद्धको मेत्रीपूर्ण खेल खेल्ने टिममा थिए । यस्तै म्यानमार विरुद्ध टिममा रहेका फरवार्ड नवयुग श्रेष्ठ पनि यसपटक टिममा छैनन् ।
होम एण्ड अवेका आधारमा हुने छनोट खेलमा नेपालले लाओससँग दोस्रो लेग असोज ३० गते उसकै मैदानमा खेल्नेछ । यस खेलको विजेता टोलीले विश्वकप छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् ।