एमाले लुम्बिनी प्रदेश अधिवेशन : निर्वाचन हुन्छ कि ओलीको आर्शिवाद ?
भदौ १६ देखि बुटवलमा सुरु हुने दुई दिने एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशन नजिकिँदै गर्दा गुटका गोप्य भेला हुन थालेका छन् । पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेलको टिमको नाममा नेताहरूले छुट्टाछुट्टै भेला र बैठकको आयोजना गरिरहेका छन् ।
अधिवेशन तयारी अन्तिम चरणसँगै अध्यक्षका आकांक्षीहरु खास गरी वर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री हरि रिजालले गोप्य बैठकलाई तीव्रता दिएका हुन् ।
अध्यक्षमा रिजाल सहितका नेताहरूले बुटवल–१४ को ढवाहामा रहेको आरम्भ रिसोर्टमा भेला गरेका छन् । गोप्य भेला भए पनि त्यसको तस्बिर सार्वजनिक भएको छ ।
अर्को पक्षले केही नेताहरूले पनि रुपन्देहीको तिलोत्तमाको मणिग्रामस्थित ड्रिम ल्यान्ड रिसोर्टमा भेला गरेका छन् । तर भेलामा सहभागी दुवै पक्षले नेताहरूले सामान्य भेटघाट राखेको प्रतिक्रिया दिएका छन् ।
मणिग्रामको भेलाले वर्तमान अध्यक्ष रधाकृष्ण कँडेललाई नै अध्यक्ष बनाउन सबैखाले प्रयास गर्ने रणनीति बनाएको एक नेताले खुलाएका छन् । पोलिटब्युरो सदस्य लीला गिरीको नेतृत्वमा पोलिटब्युरो सदस्य खिमलाल भट्टराई,दधिराम सुवेदी, प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठलगायतका नेताहरू सहभागी भेलाले कँडेललाई सर्वसम्मत, नभए निर्वाचनमा जिताउने गरी तयारी गरेको हो ।
यता रिजाललाई पार्टी महासचिव शङ्कर पोखरेल निकट केन्द्रीय सदस्य बलराम अधिकारी, चेतनारायण आचार्य, शिवराज सुवेदी, भूमिश्वर ढकाल, पाल्पाका प्रदेश सांसद नारायणप्रसाद आचार्य, नवलपरासीका थानप्रसाद गैरे लगायतले साथ दिएका छन्। गोप्य भेलामा यी नेताहरूसहित १० वटा जिल्लामध्ये केहीका अध्यक्ष र सचिवहरू सहभागी थिए ।
सोही भेलामा सहभागी केन्द्रीय सदस्य भूमिश्वर ढकालले अधिवेशनको बेला सामान्य साथीहरू भेटघाट गर्दा केन्द्रीय नेताहरू नाम जोडेर अर्को पक्षले प्रचार गरेको आरोप लगाए ।
उनले प्रदेश अधिवेशन भएकोले प्रदेशले मिलाउनु पर्ने भन्दै केन्द्रीय नेताहरू पक्ष विपक्ष नाम ल्याउनु गलत भएको बताए। उनले आफूहरू जिल्ला अध्यक्षहरू भएको ठाउँमा सामान्य भेटघाट गर्नुलाई अन्यथा मान्न नमिल्ने बताए ।
एमाले पोलिटव्युरो सदस्य दधिराम न्यौपाने कार्यक्रमको उद्घाटनको तयारीमा लागेको भन्दै नेतृत्व सकेसम्म सर्वसम्मत गराउने, नभए लोकतान्त्रिक विधिअनुसार निर्वाचन अगाडि बढाउने बताए । उनले अहिले पार्टी केन्द्रको नीति प्यानल नभएर व्यक्ति व्यक्तिबीच प्रतिस्पर्धा हुने भएकाले यसलाई गुटभन्दा व्यक्ति व्यक्ति बीचको प्रतिस्पर्धा बुझ्नुपर्ने बताए ।