माल्दिभ्सलाई हराएपछि नेपालका प्रशिक्षकले भने- सोचे अनुरुपको नतिजाले खुसी
साफ यू-१९ च्याम्पियनसिपमा माल्दिभ्सलाई ४-१ ले हराएपछि नेपाली टिमका प्रमुख प्रशिक्षक सुनिल श्रेष्ठले आशा गरे अनुसारकै नतिजा आएको भन्दै खुसी व्यक्त गरेका छन् ।
आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १-० ले पराजित भएको नेपाललाई सेमिफाइनल पुग्नका लागि माल्दिभ्ससँगको खेल जित्नै पर्ने दबाब थियो ।
दबाबकै बीचमा पनि खेलाडीको मिहिनेतले खेल जित्न सकेको उनले बताए । ‘आजको खेलमा हामीलाई जित्नै पर्ने दबाब थियो,’ उनले भने ‘खेलाडीहरुले गरेको मिहिनेनतका कारण हामीले जित्यौं ।’
पाकिस्तानसँगको खेलको तुलनामा माल्दिभ्ससँगको खेलमा नेपाली टिममा धेरै सुधार भएको उनले दाबी गरे ।
बिहीबार नेपाललाई हराएको पाकिस्तान शनिबारको खेलमा माल्दिभ्ससँग बराबरीमा रोकियो थियो । शनिबारको माल्दिभ्सको खेल विश्लेषण गरेको भन्दै उनले त्यसकै कारण आज खेल्न सहज भएको बताए ।