वानडे क्रिकेट विश्वकपका लागि विलियम्सनको कप्तानीमा न्युजिल्याण्डको टोली घोषणा
साविक उपविजेता न्युजिल्याण्डले वानडे क्रिकेट विश्वकपका लागि न्युजिल्याण्डको टोली घोषणा भएको छ ।
न्युजिल्याण्डले केन विलियम्सनकै कप्तानीमा १५ सदस्यीय टोली सोमबार घोषणा गरेको हो ।
गत मार्चमा भएको आईपीएलमा घाइते भएका विलियम्सनको रिकभरी राम्रो भएको भन्दै उनलाई विश्वकप टिममा राख्ने यसअघि नै न्युजिल्याण्ड क्रिकेटले जनाएको थियो ।
विलियम्सनसहित न्युजिल्याण्डको टोलीमा अनुभवी खेलाडीहरु समावेश छन् ।
विलियम्सनसँगै फास्ट बलर टिम साउदी चौथो पटक वानडे विश्वकप खेल्ने तयारीमा छन् । दुई युवा खेलाडी मार्क च्यापमान र रचिन रभिन्द्र पनि टिममा समावेश छन् ।
शीर्ष क्रमका ब्याटर फिन एलेन र ब्याकअप विकेटकिपर टिम सेइफर्ट भने टिममा अटाएनन् । टम लाथम एक्लो विकेटकिपरका रुपमा टिममा छन् । इंग्ल्याण्ड टुरका क्रममा घाइते भएका एडम मिल्ने पनि टिममा छैनन् ।
न्युजिल्याण्डका प्रशिक्षक ग्यारी स्टिडले अन्तिम टोली छनोट गर्न केही कठिन भए पनि टिममा अनुभवी र युवा खेलाडीको मिश्रण रहेको र विश्वकपमा आफ्नो टिमलाई प्रतिनिधित्व गर्नु ठूलो सम्मान हुने बताएका छन् ।
विश्वकप आगामी अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा हुँदैछ ।