नेपाल टी-२० लिगमा लाखौं डलर गुमाएको अमेरिकाको लुम्बिनी अलस्टार्स
खेलाडीले पारिश्रमिक समयमै नपाएको र स्पट फिक्सिङ भएको घटना सार्वजनिक भएपछि गत पुसमा भएको पहिलो संस्करणको नेपाल टी-२० लिग विवादित बन्यो।
बेटिङ पृष्ठभूमिको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई नेपाल क्रिकेट संघ (क्यान) ले आयोजनाको सम्पूर्ण अधिकार दिएपछि विवाद सुरू भएको थियो। लिगकै दौरान स्पट फिक्सिङ भएको सार्वजनिक भएपछि सेभेन थ्रीका प्रमुख जतिन अहुवालिया भारत भागेपछि थप आशंका बढेको थियो।
लिग सुरू हुनुअघि क्यानमाथि गम्भीर आरोप लागेका थिए। बेटिङ पृष्ठभूमिको कम्पनीलाई लिग आयोजना गर्न दिँदा नेपालमा अवैध बेटिङ र सम्भावित फिक्सिङका बारेमा पटक-पटक प्रश्न उठेका थिए। तर क्यान नेतृत्वले प्रश्नको उचित जवाफ दिन आवश्यक ठानेन। लिग रोक्नका लागि अवरोध भइरहेको भएको भन्दै नेतृत्वबाट सार्वजनिक रूपमै आक्रोश व्यक्त भयो।
लिग सुरू हुनअघि विदेशी खेलाडीले श्रम स्वीकृति लिनु पर्ने विषयमा क्यान जानकार थियो। त्यसैले क्यानले सिफारिसका लागि राष्ट्रिय खेलकुद परिषद्मा पत्राचारसमेत गर्यो। तर खेलकुद परिषद्ले लिगका आवश्यक कागजपत्र मगाएर हेरेपछि मात्र सिफारिस गर्ने बतायो।
क्यानले कागजपत्र समयमै पठाउन सकेन। लाखौं पारिश्रमिकमा अनुबन्धन भएका विदेशी खेलाडी श्रम स्वीकृतिबिना मैदानमा उत्रिए। नेपाली प्रशासनले आँखा चिम्लियो।
लिग चलिरहँदा खेलाडीले पारिश्रमिक नपाएका खबर आए। पारिश्रमिक नपाएपछि जिम्बावेका सिकन्दर राजा बीचमै फर्किएको समाचार सार्वजनिक भएपछि अरू टिमको समस्या पनि बाहिर आउन थाल्यो। टिमको मालिक ‘डमी’ को रूपमा खडा गरिएको आरोपलाई पुष्टि गर्ने गरी व्यवस्थापकहरू खेलाडीको सम्पर्क बाहिर गए। जसका कारण खेलाडीहरूले टिमबाट समयमै पारिश्रमिक पाउन सकेनन्। कतिपय खेलाडीले अझै पारिश्रमिक पाएका छैनन्।
लिगमा स्पट फिक्सिङ भएको र मुख्य योजनाकार सेभेन थ्रीका जतिन भएको नेपाल प्रहरीले निष्कर्ष निकालेको थियो।
पछि स्पट फिक्सिङ घटनामा पाँच जनाविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरियो। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का डिएसपी सुन्दर तिवारी नेतृत्वको टोलीले १२ जनालाई प्रतिवादी बनाएको थियो। तर सरकारी वकिल कार्यालयले उनीहरूको नाम, थर, वतन सबै नखुलेको हुँदा मुद्दा दर्ता गरिएन। जनकपुर रोयल्सका खेलाडी मोहम्मद आदिल आलम, पूर्व राष्ट्रिय खेलाडी महबुब आलम, नितेश गुप्ता, नविक कँडेल र रवि माझीविरूद्ध मुद्दा दायर गरिएको थियो।
सिआइबीले आयोजक कम्पनी सेभेन थ्री स्पोर्टसका सञ्चालक जतिन अलुवालिया, अभिषेक सकलानी, राहुल शर्मा, एन्ड्रू म्याकर्थी, रवि माझी, समिर शेख, वीरेन्द्र साह र विकास ध्यानीलाई पनि प्रतिवादी बनाएको थियो।
लिगको उपाधि लुम्बिनी अलस्टार्सले जितेको थियो। तर विवाद र नेपाली क्रिकेट नेतृत्वको अपरिपक्व निर्णयका कारण लुम्बिनी अलस्टार्सले सही नियत राख्दै नेपाली क्रिकेटमा गरेको लगानी ‘बालुमा पानी हाले’ झैं भएको छ।
अमेरिकी राज्य टेक्सासको डलासस्थित अल स्टार्स इन्कअन्तगर्त लुम्बिनी अलस्टार बनेको थियो। लुम्बिनीमा सन्जय शर्मा, आशिक लामा, वरदान चालिसे र उत्सव सिग्देलको लगानी छ। अलस्टारको मुख्य उद्देश्य नेपाल र अन्तर्राष्ट्रिय स्तरमा लिग क्रिकेटको स्तर माथि उठाउने स्टार्सको वेबपोर्टलमा उल्लेख छ।
लुम्बिनी अलस्टार्सका लागि कम्पनीले २ लाख २० हजार अमेरिकी डलर फेञ्चाइज शुल्क तिरेका थियो। यस्तै खेलाडीसँगको सम्झौता, बन्द प्रशिक्षण तथा अफिसियलका लागि लाखौं खर्च भएको थियो। विदेशी खेलाडीको श्रम स्वीकृतिका लागि भन्दै क्यान पदाधिकारीले लुम्बिनी अलस्टार्स १० लाख रुपैयाँ लिए पनि खेलाडीले श्रम स्वीकृति पाएका थिएनन्।
लुम्बिनीले उपाधि जितेबापत् पाउनु पर्ने ५५ लाख रुपैयाँ अझैसम्म पाउन सकेको छैन।
यसरी लिगका लागि करोडौं रुपैयाँ लगानी गरे पनि लुम्बिनीले अर्को सिजन खेल्न पाउने पक्का छैन। किनभने भारतीय कम्पनीसँगको सम्झौता क्यानले रद्द गर्ने निर्णय गरिसकेको छ भने अर्को लिगका लागि तयारी थाल्ने बताएको छ।