विश्वकप छनोट : नेपालले लाओसलाई हराए युएई र बहराइन सम्मिलित समूहमा प्रतिस्पर्धा गर्ने
फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को एसिया छनोटको पहिलो राउन्डमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्ने भएको छ।
एसियाली फुटबल महासंघ (एएफसी) ले आज सार्वजनिक गरेको पहिलो चरणको ड्रमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्ने तय भएको हो।
नेपालले लाओससँग होम एन अवे गरी दुई खेल खेल्नेछ। पहिलो खेल १२ अक्टोबर र दोस्रो खेल १७ अक्टोबरमा हुनेछ।
फिफा वरीयतामा नेपाल १७५औं र लाओस १८७औं स्थानमा छन्। जित हात पारे नेपाल दोस्रो चरणमा पुग्नेछ।
दोस्रो चरणमा पुगे नेपाल समूह 'एच' मा पर्ने भएको छ। एएफसीले आजै सार्वजनिक गरेको दोस्रो चरणको छनोटको समूह 'एच' मा युएई, बहराइन, यमन/श्रीलंका र नेपाल/लाओसबीच प्रतिस्पर्धा हुनेछ।
पहिलो चरणमा नेपालसँगै २० ले प्रतिस्पर्धा गर्दैछन्। एसिया वरीयताको पुछारका २० टिमलाई पहिलो चरणमा प्रतिस्पर्धा गराउन लागिएको हो।
२६ वरीयतासम्मका राष्ट्रलाई भने दोस्रो चरणमा प्रवेश दिइएको छ। दोस्रो चरणमा पहिलो चरणबाट आएका १० टिम र सोझै दोस्रो चरणमा पुगेका २६ टिम गरी ३६ टिमबीच प्रतिस्पर्धा हुनेछ।
दोस्रो चरणका खेल नोभेम्बर २०२३ देखि जुन २०२४ सम्म होम एन्ड अवेका आधारमा सञ्चालन हुनेछ।