मिस्टर नेपालको दौडमा विद्यार्थी, डाक्टरदेखि पाइलटसम्म
न्यु लुक ‘मिस्टर नेपाल २०२३’ आगामी शनिवार दरबारमार्गस्थित होटल याक एन्ड यतिमा एक भव्य समारोहका बीच आयोजना हुँदै छ । प्रतियोगिताको फाइनल स्पर्धामा १९ प्रतियोगी उपाधिका लागि भिड्दै छन् । प्रतियोगितामा शीर्षसहित विभिन्न उपशीर्षकमा पनि विजेता छानिने छ । शीर्ष विजेताले ‘मिस्टर वर्ल्ड २०२३’ वा ‘मिस्टर ग्लोबल २०२३’ मा नेपालको प्रतिनिधित्वको अलवा पाँच लाख बराबरको पुरस्कार जित्न सक्ने छन् ।
देशभर आयोजना भएको अडिसनमा हजारौँ सहभागीबाट पहिलो चरणका लागि तीन सय प्रतियोगी छानिएका थिए । तीन सय जनाबाट अन्तिम स्पर्धाका लागि उत्कृष्ट २० जना छानिएका हुन् । छानिएका २० मध्येका प्रतियोगी नम्बर ११ केही समयअगाडि स्पर्धाबाट बाहिरिएपछि फाइनलमा १९ जना मात्र भिड्ने भएका हुन् ।
छानिएकाहरूमा प्लसटुका विद्यार्थीदेखि शिक्षक, डाक्टर, इन्जिनियर, चार्टर एकाउन्टेन र पाइलटसमेत छन् । सबै प्रतियोगी स्विमिङ, फुटबल, रक क्लाइम्बिङ, समाज सेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी प्रशिक्षणसहित फाइनलका लागि तयारी अवस्थामा छन् ।
‘मिस्टर नेपाल’ नेपालमा आयोजना हुने पुरुषहरूको सहभागिता रहने सबैभन्दा प्रतिष्ठित प्रतियोगिता हो । युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले २००१ देखि प्रतियोगिता नियमित आयोजना हुँदै आएको आयोजक नेक्स्ट मोडल्स नेपालकी प्रबन्ध निर्देशक यत्ना पाण्डेले जानकारी दिइन् ।
यो पटक मिस्टर नेपाल ‘न्यु लुक मिस्टर नेपाल’ को नामबाट आयोजना हुँदै छ । प्रयोजक न्यु लुक ब्युटी फर लाइफ भएको कारण नामको अगाडि न्यु लुक जोडिएको हो ।
१६ वर्षदेखि ३२ वर्ष ननाघेका युवाहरूको सहभागिता रहने प्रतियोगितामा ५ फिट ८ इन्च माथि उचाइ भएका नेपाली नागरिक प्रतियोगीको रूपमा छन् । प्रतियोगिताको कोरियोग्राफर प्रशान्त ताम्राकार रहेका छन् । प्रतियोगिता विगतको भन्दा अझ भव्य हुने आयोजकको दाबी छ ।