उपप्राध्यापक चलाउनेलाई काठमाडौं जिल्ला अदालतबाट प्रहरीले नियन्त्रणमा लियो
काठमाडौं । त्रिभूवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई काठमाडौं जिल्ला अदालतबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
आफू माथि कुटपिट गर्नेहरु विरुद्धको मुद्दा सरकारले फिर्ता गर्ने निर्णय गरेपछि त्यसको विरोध स्वरूप उनी सोमबार जिल्ला अदालत काठमाडौ पुगेका थिए । उनी सहित केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारमा राखिएको जिल्लाप्रहरी परिसर काठमाडौंले जनाएको छ ।
जेठ ३० गते मंगलबार बसेको मन्त्रि परिषदको बैठकले उपप्राध्यापक चलाउने माथि कुटपिट गरी ज्यान मार्ने उद्योगको मुद्दा फिर्ता गर्ने निर्णय गरेको थियो ।
२०७७ साल असोज २० गते नेविसंघका त्रिवि समिति अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावल लगायत सात जनाले उपप्राध्यापक चलाउने माथि कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका उपप्राध्यापक चलाउनेको ज्यान मार्ने उद्योग कसुरको मुद्दा काठमाडौं जिल्ला अदालत माविचाराधीन छ ।