सांसद भवनमा भएका बौद्धिक ब्यक्तित्वका ताण्डब नृत्यहरु
कठै मेरो देश नेपाल आज एक्लै रोइरहेको छ । अनियमितता र भ्रष्टाचारले चौतर्फी घेरिएर थिलथिलो अवस्थामा रहेको मेरो देश बबुरो ! टाउकोमा हात लगाएर टुलु–टुलु हेरिरहेको छ यि सबै अनैतिकताका श्रङ्खलाहरु । आज कोही छैनन् उसलाई बचाउनका लागि अङ्गरक्षकहरु । जहाँ छन्, जती छन्, जे छन् ती सबै आफुलाई नै बचाउन तल्लिन छन् त्यसर्थ सबै कुरा टुलु टुलु हेरीरहेको छ मेरो देश नेपाल....।
भ्रष्टाचार र अनियमितताको विषयमा सम्पूर्ण पार्टीहरुले नै पक्ष र विपक्षमा नाङ्गीएर उत्रिएका छन् त्यसर्थ भ्रष्टाचारको दुशचक्रबाट आम नेपाली जनताहरु घेरीसकेका छन् । यस महाकष्टलाई मुक्ति दिलाउनका लागि राज्यले सशक्त कदम चाल्नै पर्छ , परिणाम जस्तोसुकै आओस् तर सुन्नमा चाही जताततै सुनिन्छ कि निष्पक्ष छानविन होस् र दोषी उपर कडा कारवाही होस् तर खोइ ? उही ‘‘मुखमा राम राम बगलीमे छुरा” भनेझैँ यहाँ त नेतृत्व, नेता, कार्यकर्ता, कर्मचारी, छोरा समुह र आमा समुह देखी उद्योगपती, व्यापारी, ब्यवसायी, नागरीक समाज, आर्मी, पुलिस, अख्तियार आदी इत्यादी जे जती छन् सबै काँही न काँही र कोही न कोही सँग गाँसीएकै देखिन्छन् अनी कसरी हुन्छ निष्पक्ष छानविन ? बाँकी कारवाहीको त कुरै छोडौ ।
यहाँ कसैलाई छुनै हुँदैन पोलिहाल्छ, दोषारोपण सुरु भइहाल्छ, त चोर कि म चोर ? त ठुलो कि म ठुलो ? त ठुलो भ्रष्ट कि म ठुलो भ्रष्ट ? म भ्रष्टाचार पनि गर्दीन र गर्न पनि दिन्न भन्ने कुरा पनि उही नारामा मात्र सिमित हुने भयो । चोरको खुट्टा काट भन्दा आफ्नै खुट्टा तान्न खोज्नु, भ्रष्ट–भ्रष्टाचार र अनियमितताको आ–आफ्नै पोल खोलाखोल गर्न थाल्नु, आफुले बोलेको, गरेको सवै राम्रो तर त्यही कुरा अरुले गरे भने सबै नराम्रो देख्न थाल्ने र तिललाई पहाड र पहाडलाई तिल बनाउने कोशिस गर्नु , अरु सबै भ्रष्ट आफु मात्रै नैतिकवान ठान्नु, आफ्नो जिउको भैसी नदेख्नेले अरुको जिउको भने जुम्रा पनि देख्न थाल्नु, यि आदी इत्यादी आरोप प्रत्यारोपहरुले भने देशलाई कता तिर लैजान खोज्दै छ ? त्यसैले कोही पनि आफुहरु “पानी माथीको ओभानो” भने बन्न नखोजौँ । हामी सबैले सबैलाई चिनेकै छौँ होईन र ?
हाल कुरा उठेको छ कि मानव तस्करीको, जो भुटानी शरणार्थी बनाएर अमेरीका पठाउने कुरा हो जहाँ अरवौँ अरवको खेलो फट्को छ । यसको छानविन, दोषी उपर कारवाही को त कुरै छोडौँ उही सर्पले सर्पकै खुट्टा देख्छ रे भनेझैँ अव त कुरा मोडेर अन्तै लान पो खोजिदैछ । हो हाम्रो देश पंचायतकाल देखीनै मुर्ति चोर्ने, ड्रग्स भित्र्याउने, सुनिता–नविता काण्ड, गाई काण्ड, गधा काण्ड, जंगल फडानी काण्ड, दरवार हत्या काण्ड, लाउडा काण्ड, वोइङ्ग काण्ड, सुडान काण्ड, धमिजा काण्ड, महाकाली काण्ड, ओम्नी काण्ड, ललिता निवास काण्ड, माओवादी काण्ड, केन्टोनमेन्ट काण्ड, ३३ किलो सुन काण्ड, हत्या, हिँसा, बलात्कार काण्ड आदी इत्यादी काण्डै काण्डले घेरिएको मेरो देश के यि सबै काण्डहरु एकै पटक सुरु गरेर एकै साथ अन्त्य गर्न सकिन्छ र ? फेरी देश भित्र यति धेरै काण्ड नै काण्डहरु रहेछन् त के हेरेर बस्नुभयो आजसम्म तपाईहरु? यि सबै हिजो आज भएका काण्ड त होइनन् होला ? जती खेर तपाईहरु पावर र कारवाही गर्ने ठाऊँमा हुनुहुन्थ्यो त्यो समय के हेरेर बस्नुभयो ? त्यसर्थ सबै जना संयम हुनुहोस् कुनै पनि निर्दोष ब्यक्ति पर्नु हुदैन तर दोषी छ भने उम्कनु पनि हुँदैन । उसले गरेको अपराध अनुसार जो कोही होस्, सजायको भागेदार हुनैपर्छ । अव आ–आफु आफैँ सर्वाङ्ग नाङ्गी सक्नु भएको छ अरुलाई के नङ्गयाउनुहुन्छ ? सबै कुरा नेपाली जनताहरुले बुझिसकेका छन्, बुझ्न बाँकी त तपाईहरु मात्र हो ।
फाईल र फायर दुवै खुलेको छ अनुसन्धान सुरु गरौ, जहाँबाट सुरु भएको छ त्यो सक्नुहोस् अनि अर्को सुरु गर्नुहोस् , त्यसपछि अर्को अर्को गर्दै जानुहोस् अव कुरा मिल्यो नि होईन र ? तर यहाँ त यस्तो होईन तपाईहरुका बोली र वर–व्यवहारहरुले के देखाउछ भने हामी तपाईहरुका पार्टीका कार्यकर्ता, समर्थक, शुभचिन्तक हौँ भन्न पनि लाज लाग्ने दिन आए जस्तो लाग्दै छ कि कसो हो ?
एउटा नवगठीत पार्टी बोल्नै छोड्यो किन ? किनकी उसलाई प्रधानमन्त्रीको अफर छ । कुरा ठुला काम जिरो । व्यवहार जिरो मान्छे हिरो, हेर्दै जानुस् ति आजका हर्षका दिनहरुलाई कतै भोली आसुले नबगाओस् । अर्को राजावादी चर्किदै छ किन ? उसले पनि हिजो गरेका कुकर्म र कुकृत्यहरु अव त जनताले पनि विर्सिए होलान् भन्ने ठानेको होला । अझ घुस खानु भनेको त आमाको रगत खानु सरह हो भनेकै छु भन्ने लागेको पनि होला तर अहिलेका जनताहरु भनेका २१ औँ शताव्दीका जनता हुन् हिजोका ढुङ्गे युगका होइनन् । नेपाल सानो छ सबै कुरा सबैलाई थाहा भईहाल्छ होइन र ? अब मधेस प्रदेशको त कुरै नगरौँ “जता मल्खु उतै ढल्कु” अझ त्यसमा पनि कस्ले धेरै मन्त्री बनाउँछ, राम्रो मालदार मंत्रालय कस्ले दिन्छ त्यसैले तै चुप मै चुप जस्तो छ कि होइन ? जो सत्तामा छन् लाजगाल बोल्नै पर्यो, मौका गुमेपछि फेरी पाईन्छ कि पाईदैन , जो हात सो साथ गर्नै पर्यो । अव प्रतिपक्षको भने कुरै नगरौँ ,उसले ढाकछोप गर्नैपर्यो, औँला अर्कोतिर उठाउनै पर्यो, जसरी पनि दोष देखाउनै पर्यो । जसरी हुन्छ सत्तापक्ष भन्दा प्रतिपक्ष राम्रो हो र राम्रो छ भन्ने देखाउनै पर्यो कि होईन ? अनि छानविन कारवाही चाँही कसले कसलाई कहिले र किन गर्ने ? थोरै धेरै भाग करिब करिव सबैको भागमा परेकै होला, उही केही केही सोझा सिधा बाँकी रहे भन्न सकिएन होईन भने केही न केही मा काँही न काँही जोडिएकै देखिन्छन् कि होईन ?
धिकार ! छ ति केही पार्टी, नेतृत्व , नेता, कार्यकर्ता, कर्मचारी, पूर्वपंच, दरवारिया भनाउदाहरुलाई ज–जस्ले, जहिले जहिले, जुन जुन बेलामा जे जसरी राष्ट्र र जनताको दुहाई दिदै अनैतिक ढङ्गबाट भ्रष्टचार, दुराचार, अन्याय –अत्याचार, चोरी–डकैती, शोषण गरी विभिन्न काण्डै काण्डहरु मच्चाएर देश र जनतालाई थिलथिलो बनाए र अझै बनाईरहेका छन् त्यस्ताखाले राष्ट्रघाती कुतत्वहरुलाई अव राष्ट्र सेवक जनता , , नेतृत्व, नेता, कार्यकर्ता र कर्मचारीहरु एक भएर आवाज उठाउनुपर्छ र निष्पक्ष छानविन गरी दोषी उपर कडा भन्दा कडा कारवाही गरी देशको कानुन र संविधान अनुसार सजाय दिलाउनु पर्छ र अहिलेको निकास पनि यही नै हो जस्तो मलाई लाग्छ ।
तर उही – कुराको लागि कुरैको दुख भनेझैँ मात्र हो भने फेरी उही पुरानै खेल सरकार ढाल्ने प्रधानमन्त्री बनाउने, मन्त्री बन्ने, रिस–राग र तुष आदी साध्ने, एकले अर्कोलाई देखाउने, अरुको अपमान गर्ने, सत्ता प्राप्तीका लागि जे गर्न पनि तयार हुने, खोलीएको भ्रष्टाचारका फाईलहरु पनि बन्द गर्ने, निर्दोष माथी कारवाही र दोषीलाई उन्मुक्ति दिने, जनताहरुलाई भेडा–बाख्रा सम्झने हो भने अव तपाईहरुका लागि विनाशका दिनहरु निश्चित छ । उही समय अलि ढिलो र छिटो मात्र होला होइन भने इतिहास साक्षी छ हेर्नुस् त जसरी राणाकाल, शाहकाल, पंचायतकाल समाप्त हुँदै गए त्यसै गरी बुहदलिय गणतन्त्रात्मक कालको पनि अन्त्य हुने दिनहरु आउँदैछन् जस्तो लाग्छ। यदी बेलैमा आफुले आफुलाई परिस्कृत र परिमार्जित नगर्ने हो भने , नेतृत्व नेता नफेरिने हो भने, व्यक्तिको आचरणमा सुधार नआउने र नल्याउने हो भने अव श्री पशुपतीनाथले पनि तपाईहरुलाई बचाउन सक्नु हुन्छ होला जस्तो मलाई लाग्दैन कि होईन ?
मलाई एउटा कुराको सम्झना छ कि हिजोका ति कालरात्री दिनहरुमा पनि राष्ट्र र जनताको हितको निमित्त सहिद हुनुहुने ति तमाम सहिदहरु प्रति भावपूर्ण श्रदा–सुमन अर्पण गर्दै पंचायतकालका ति जनपक्षिय उम्मेदवारहरुबाट पार्टी निर्माणका दौरानमा उहाँहरुले गर्नुभएको भुमिकाले अहिले पार्टीलाई जुन सफलता प्राप्त भयो सायद अहिले हामीले त्यो विर्सीयौँ होला तर हिजोका तिनै मण्डलेहरु आज हामीले हिजो गरेका कार्यहरुको बाटोको अनुशरण गर्दै आज अघि बढ्दैछन् त्यसर्थ नेतृत्व–नेता, कार्यकर्ताहरु हो होसियार ! जनता, कार्यकर्ताहरु कसैका दास होईनन्, जनताहरु जहिले पनि परिवर्तन चाहन्छन् त्यसर्थ हिजो तपाईहरुलाई फुल दिने हातहरुले फेरी आज तपाईहरुलाईनै ढुङ्गा हान्ने दिन नआओस् । कतै चेतना भया ।।।।।
अस्तु ।।।।
सुरेश प्रसाद निरौला
काठमाण्डौ, वडा नं ३२
२०८०।०१।२५