सिंहदरबारको फोहोर उठाउन काठमाडौं महानगरलाई सर्वोच्चको आदेश
सर्वोच्च अदालतले सिंहदरबार, राष्ट्रपति कार्यालयको फोहोर उठाउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको छ।
न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले आफ्नो आदेश प्राप्त गरेको मितिले तीन दिनभित्र फोहोर उठाउन अन्तरिम आदेश दिएको सर्वोच्च अदालतले जनाएको छ।
अधिवक्ता पदमबहादुर श्रेष्ठले गत सोमबार दिएको रिटमा पहिलो सुनुवाइ गर्दै उक्त इजलासले यस्तो आदेश दिएको हो।
काठमाडौंको वायुमण्डल प्रदुषित हुन पुगेको र यो सहर संसारकै सबभन्दा प्रदुषितमा एकनम्बरमा आएको समाचार हामी सबैका लागि लज्जाको विषय भएको सर्वोच्चको ठम्याइ छ।
त्यसमाथि काम विषेशले हजारौँ नागरिक र सेवाग्राही दिनहुँ पुग्ने सिंहदरबार क्षेत्र लगायतका ठाउँको फोहोर नउठाएर वातावरण दिनहुँ प्रदुषित भएको, आम जनमानसलाई प्रत्यक्ष असर गरिरहेको देखिएकाले अब कत्ति पनि ढिलाई नगरि फोहोर उठाउनुपर्ने सर्वोच्चको आदेशमा उल्लेख छ।
फोहोरमैला व्यवस्थापन ऐनले २०६८ ले फोहोरमैला संकलन र अन्तिमा विसर्जन व्यवस्थापनको काम स्थानीय तहको हुने भनेको कुरा सर्वोच्चले सम्झाएको छ। संविधानको धारा २१४ (१), (२) र अनुसूची ८ ले मा भनएको प्रावधान अध्ययन गर्दा पनि फोहोर मैला व्यवस्थापन स्थानीय तहकै देखिएको सर्वोच्चले बताएको छ।
‘संवैधानिक र कानुनी व्यवस्था अनुसार निवेदकले उल्लेख गरेका क्षेत्रहरू (सिंहदरबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री निवास) को फोहोर संकलन गरि उठाइ विसर्जन गर्नुपर्ने दायित्व काठमाडौं महानगरको देखिन आयो,’ आदेशमा भनिएको छ, ‘उक्त स्थानहरूको फोहोर यो आदेश प्राप्त गरेको मितिले ३ दिनभित्र संकलन गरि विसर्जन समेत अबिलम्ब गर्नु गराउनु भनि काठमाडौं महानगरपालिकाको नाउँमा यो अन्तरिम आदेश जारी गरिदिएको छ।’
काठमाडौंको फोहोर विसर्जन गरिने ठाउँ वा ल्याण्डफिल साइटका बासिन्दा, स्थानीय तह तथा सरोकारवालासँग आवश्यक समन्वय, उचित सहकार्य र सार्थक सहयोग पुर्याइ स्वच्छ वातावरण राख्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पनि इजलासले गम्भीर ध्यानाकर्षण गराएको छ छ।