संघ र संगठन नभए पनि समूह दर्ता गरेर स्ववियु चुनाव लड्न पाइने
स्ववियु निर्वाचनको कार्यतालिका शुक्रबारदेखि सुरु हुँदैछ । चैत ५ गते हुने त्रिभुवन विश्वविद्यालयमा स्ववियु निर्वाचनको लागि शुक्रबार संघ/संगठन/समूह दर्ता गर्ने कार्यक्रम छ ।
कुनै पनि राजनीतिक दलको भातृ संगठनले एउटा बाहेक अर्को संगठन दर्ता गर्न पाइँदैन ।
त्यस्तै विद्यार्थीहरूले समूह बनाएर पनि स्ववियु निर्वाचन लड्न पाइनेछ । राजनीतिक दलका विद्यार्थी संगठनहरू बाहेकका स्वतन्त्र व्यक्तिहरू समूह बनाएर निर्वाचनमा भाग लिन पाउनेछन् ।
स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य–सचिव तथा विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्यापक पशुपति अधिकारीले संघ र संगठन छैन भनेपनि समूह दर्ता गर्न पाउने बताए ।
विगतको अभ्यास अनुसार नै संयोजकसहित ११ सदस्यीय कमिटी बनाएर क्याम्पसमा समूह दर्ता गराउन सकिने उनको भनाई छ ।