आज माघे सङ्क्रान्ति पर्व मनाइँदै
आज मकर सङ्क्रान्ति अर्थात माघे सङ्क्रान्ति पर्व हो। माघे सङ्क्रान्ति प्रत्येक वर्ष माघ १ गते पर्दछ।
भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्नभिन्न भेग र समुदायमा भिन्नभिन्न ढंगले मनाउने प्रचलन छ । यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन्, मगर समुदायले मुख्य रुपमा धुमधामको साथ् मनाउने यो पर्वलाई माघ्या र सेर्ल्हेस पनि भनिन्छ । नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईमा बसोबास गर्ने छेत्री, बाहुन, राई, मगर , लिम्बु, नेवार, गुरुङ, मगर आदि सबै जनजातीले माघे सङ्क्रान्तिलाई आ–आफ्ना परम्परा, भिन्न भिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ ।
जानेर वा नजानी मनाउदै आएका नेपाली परम्परा, धर्मसस्कृती, पर्व नेपाली परिकार जस्ता कुराहरु प्राचीन धर्मशास्त्रमा मात्र नभएर हाल बिज्ञान र प्रविधिको २१ औं युगमा आउँदा नेपाली परम्परा, नेपाली परिकारलाई बिज्ञानले पनि मानव हितका लागि उपयोगी र लाभदायी रहेको कुरा पुष्टि गरेको छ।
माघे संक्रान्तिको अवसरमा माघको पहिलो दिन खाइने घिउ, चाकु तथा सख्खरले शरीरलाई शक्ति प्रदान गर्नुुका साथै शरीरलाई भित्रबाटै न्यानो प्रदान गर्छ । साथै, यसले शरीरलाई चिसो तथा चिसोका कारण शरीरमा लाग्ने रोगसित लड्ने क्षमताको विकास गर्न मद्दत गर्छ ।
तिल

तिलले पाचन प्रकृयालाई मजबुत बनाउनुका साथै शरीरमा प्रशस्त मात्रामा भिटामिन ‘ई’ को प्रवाह गर्छ । तिलमा प्रशस्त मात्रामा खनिज पदार्थ हुने भएकोले यसले रोगसित लड्न पनि शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
तरुल, पिँडालु


कन्दुमुलका नामले चिनिने तरुल तथा पिडालुले शरीरमा कैलोरी बढाउनुका साथै शरीरमा ताप पैदा गर्छ । साथै तरुल तथा पिडालुको सेवनले शरीरमा चिल्लो तथा बोसो जम्न दिदैन । तरुल तथा पिँडालु जस्ता कन्दमुल रेशेदार हुने भएकाले यसले शरीरमा कब्जियत हुन दिदैन।
माघे संक्रान्तिमा उपयोग गरिने परिकाहरु स्थान, जाती, समुदाय अनुसार फरक फरक हुने गरेको पाइन्छ।
काठमाडौ उपत्यका:
काठमाडौ उपत्यकामा पाटन पालुङ्गो नामको पालुङ्गो साग माघे संक्रान्तिको दिन मात्र खाने प्रचलन चलिआएको छ। उक्त पालुङ्गो अरु समय खरिद बिक्री नहुने तर माघे संक्रान्तिको दिन अत्यधिक धेरै खरिद बिक्री हुने गरिएको पाइनछ।
थारु समुदाय:
थारु समुदायमा घाेंघी एक बिशेश परिकारको रुपमा खाने प्रचलन रहेको छ। घाेंघी बर्खाको समयमा पाउने जीव भएता पनि थारु समुदायमा विभिन्न चाडपर्व र साँस्कृतिक महोत्सवमा उत्कृष्ट परिकारको रुपमा घाेंघी खाने गरेको पाइन्छ।
पुस माघमा अत्यधिक जाडो हुने र जाडोले गर्दा मानव शरीरलाई आवश्यक पर्ने भन्दा कम पानी पिउने गरेकाले कब्जियत लगायतका समस्या उत्पदन हुन सक्छ । त्यसैले कब्जियत लगायतका समस्याबाट बच्न र शरीरको तापक्रम बढाउन घिउ, चाकु, तरुल, तिलको लड्डु जस्ता परिकारहरु परम्परागत रुपमा खादै आएको हो ।