‘बी’ डिभिजनमा उक्लियो झापा वीरगन्ज युथलाई हराउँदै
झापा फुटबल क्लब सी डिभिजन लिगमा एक खेल अगावै सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा हुने निश्चित भएको छ ।ललितपुरमा जारी सहिद स्मारक ‘सी’ डिभिजन लिगमा सोमबार वीरगन्ज युथ क्लबलाई ५–० गोलअन्तरले पराजित गरी झापाले लिगको शीर्ष दुईमा स्थान सुरक्षित गरेको हो ।झापाको जितमा पुरन राईले ४ गोल गरे । सन्तोष लावतीले १ गोल थपे ।१२ खेलबाट झापा ३१ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । उसले १० जित, एक बराबरी र एक हारको नतिजा निकालेको छ ।
बी डिभिजनमा उक्लिने दोस्रो टोलीका लागि भने प्रतिस्पर्धा रोमान्चक हुँदैछ । समान १२ खेलबाट प्लानिङ व्वाइज युनाइटेड र आसरी–३२ को २८ अंक छ । लिगको अन्तिम खेलबाट यी दुईमध्ये एक टोलीले अर्को वर्ष बी डिभिजन लिग खेल्न पाउनेछन् ।
यो हारपछि वीरगन्ज युथ एकेडेमी सी डिभिजनबाट रेलिगेसनमा परेको छ । ओसिस क्लब यसअघि नै रेलिगेसनमा पर्ने निश्चित भइसकेको छ । वीरगन्जको १२ खेलबाट ५ अंकमात्र भएको छ ।