‘हल्का रमाइलो’ सिरियलमा ‘मिदी भाइ’
‘मिदी भाइ’को रुपमा चर्चित किशोर नवराज रेग्मीले टेलिभिजन सिरियल ‘हल्का रमाइलो’मार्फत अभिनय करिअर थालेका छन् ।मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ निर्देशित सिरियलको आइतबार बेलुका प्रसारण भएको भागमा उनी देखिएका थिए । सिरियलमा उनी म्यादी प्रहरीकै पोशाकमा प्रस्तुत थिए ।
आफूलाई अभिनय गर्न मन लागेको भन्दै नवराजले युट्युब च्यानलहरुमा अन्तर्वार्ता दिंदै आएका थिए । सिरियलमा खेलाउन धेरैपटक आग्रह गरेपछि अभिनयको मौका दिइएको निर्देशक श्रेष्ठले जानकारी दिए ।
निर्देशक श्रेष्ठका अनुसार अझै केही भागमा नवराजलाई देख्न पाइने छ । हालैको स्थानीय तह चुनावको छेकोमा उनले आफ्ना दाजु पर्ने युवकको म्यादी पोशाक लगाएर खिचेको भिडियो टिकटकमा हालेपछि उनी भाइरल बनेका थिए ।‘सागर बसन्त किस्ने’भन्दै लागूपदार्थ प्रयोगबारेको अभिव्यक्ति दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । एक सातामा रिहा भएपछि नवराज ‘कबड्डी ४’ फिल्मको प्रचारमा लागेका थिए ।कपिलवस्तुको वाणगंगा नगरपालिका-४ का १६ वर्षीय नवराज अहिले अभिनय करिअर अगाडि बढाउन भन्दै काठमाडौंमा छन् ।