ठगी आरोपमा पक्राउ परेका प्रतिवादी महोत्तरी प्रहरी कार्यालयबाटै फरार
लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका एक प्रतिवादी जिल्ला प्रहरी कार्यालय महोत्तरीबाटै फरार भएका छन्। कास्कीको पोखरा महानगरपालिका–५ घर भएका ३८ वर्षीय रामेश्वर पराजुली प्रहरी कार्यालयबाट फरार भएका हुन्।
पोखरा महानगरपालिका–५ का पराजुलीलाई मधेस प्रदेशका मन्त्रालयबाट योजना मिलाइदिने भन्दै ठगी गरेको आरोपमा गत साउन २७ गते सिरहा प्रहरीले पक्राउ गरेको थियो। सिरहाको मुद्दा प्रक्रिया पूरा भएपछि उनलाई महोत्तरी ल्याइएको थियो।
महोत्तरी जिल्ला अदालतले भदौ २२ गते दुईवटा कसुरमा १५–१५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। काठमाडौँको बौद्ध र गौशाला प्रहरीमा समेत जाहेरी रहेकाले उनलाई अनुसन्धानका लागि काठमाडौँ पठाउने तयारी भइरहेका बेला उनी प्रहरी कार्यालयबाटै फरार भएका हुन्।
महोत्तरीका एसपी श्याम सारु मगरले घटनाबारे आन्तरिक छानबिन भइरहेको बताएका छन्। प्रहरीकै मिलेमतोमा उनी फरार भएको आशंका समेत गरिएको छ।