युएईले नेपाललाई दियो २०३ रनको लक्ष्य
आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा खेलमा घरेलु टोली युएईसँग खेलिरहेको छ । युएईले नेपाललाई जितका लागि २०३ रनको लक्ष्य दिएको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदान टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ९ विकेट गुमाएर २०२ रन बनाएको हो ।
युएईका लागिरोहन मुस्ताफाले सर्वाधिक ६० रन बनाए । यस्तै मुहम्मद वासिमले ३३, चिराग सुरीले २६ र भृत्य अरविन्दले २४ रन बनाए । बलिङमा नेपालका लागि कप्तान सन्दीप लामिछानेले १० ओभरमा १ मेडन राख्दै ३२ रन खर्चेर ३ विकेट लिए ।
करण केसीले ९ ओभरमा ३६ रन तथा सोमपाल कामीले १० ओभरमा ४४ रन खर्चेर समान २ विकेट लिए । यस्तै करण केसी, दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले १-१ विकेट लिए ।
पहिलो विकेटका लागि वासिम र सुरीले ५७ रनको साझेदारी गर्दै युएईलाई गतिलो सुरुवात दिलाएका थिए । तर १६औं ओभरको अन्तिम बलमा कप्तान सन्दीप लामिछानेले वासिमलाई एलबीडब्लु धरापमा पार्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए । १९औं ओभरमा करण केसीले सुरीलाई विकेटकिपर विनोद भण्डारीबाट क्याचआउट गराए । त्यसपछि दीपेन्द्र सिंह ऐरीले २३औं ओभरको पहिलो बलमा सिपी रिजवानलाई विनोदबाटै क्याचआउट गराएपछि युएई ७३-३ को स्थितीमा पुग्यो । रिजवान ४ रन बनाएर आउट भए ।
भृत्य अरविन्द र रोहन मुस्ताफाले युएईको इनिङ्सलाई अघि बढाए । तर यी दुईबीच ३२ रनको साझेदारी आरिफ शेखले तोडे । आरिफले ३२औं ओभरमा भृत्यलाई बोल्ड गरे ।