टोकियो ओलम्पिकमा ७ पदक जित्दै अष्ट्रेलियन एम्मा म्याककेओनले बराबरी गरिन् कीर्तिमान
जापानमा भइरहेको टोकियो ओलम्पिकमा अष्ट्रेलियन स्वीमर एम्मा म्याकेओनले चार स्वर्णसहित सात पदक जितेर सन् १९५२ को हेलसिन्की ओलम्पिकमा सोभियन युनियनकी जिम्न्यास्ट मारिया गोरोखोभ्स्काले बनाएको कीर्तिमान बराबरी गरेकी छन् ।
एम्माले एकै ओलम्पिकमा सर्वाधिक पदक जित्ने महिला खेलाडीको कीर्तिमान बराबरी गरेकी हुन् ।
एम्माले टोकियोमा सातौं पटक आइतबार चार गुणा १०० मिटर मिडले रिलेमा जितेकी हुन् । जसले उनलाई एउटै ओलम्पिकमा धेरै पदक जित्ने महिला स्वीमर समेत बनायो । त्यसअघि आइतबारै एम्माले ५० मिटर फ्रिस्टाइलमा ओलम्पिक कीर्तिमानसहित स्वर्ण जितेकी थिइन् ।
एस्मा सात वा त्यो भन्दा बढी पदक जित्ने सूचीमा माइकल फेल्प्स, मार्क स्पिट्ज र माट बिओन्डीससंगै समावेश भएकी छन् । अमेरिकन लेजेण्ड स्वीमर फेल्प्सले २००८ को बेइजिङ ओलम्पिकमा ८ स्वर्ण जितेका थिए ।
ब्रिसबनकी २७ वर्षीय एम्मा ओलम्पिकमा ७ पदक जित्ने पहिलो महिला स्वीमर बनेकी छन् । एम्माले सन् २०१६ को रियो ओलम्पिकमा पनि ४ पदक जितेकी थिइन् । उनले ओलम्पिक कूल ११ दक जित्दै आफ्नै देशका इयान थोर्प, लेइसन जोन्स जस्ता खेलाडीलाई पछि पार्दै अष्ट्रेलियाको मोस्ट डेकोरेटेड ओलम्पिन बनेकी छन् ।
एम्माले टोकियो ओलम्पिकमा चार गुणा १०० मिटर फ्रिस्टाइल रिले, १०० मिटर फ्रिस्टाइल, ५० मिटर फ्रिस्टाइल र चार गुणा १०० मिटर मिडले रिलेमा स्वर्ण जित्दा १०० मिटर बटरफ्लाई, चार गुणा २०० मिटर फ्रिस्टाइल रिले र चार गुणा १०० मिटर मिक्सड मिडले रिलेमा कांस्य जितिन् ।