राष्ट्रिय टोलीका पूर्व गोलकिपर शाहीको निधन
राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपर लोकबहादुर शाहीको आइतबार राति निधन भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टोलीका पूर्व गोलरक्षक शाहीको निधन आइतबार राती ९ः३० बजे पु्खौली घर दैलेखको चोरत्तामा भएको जनाएको छ । गत साता मात्र शाही दैलेख गएका थिए । घर जानुअघि स्वास्थ्य चेकअप गराउँदा शाहीलाई खासै समस्या थिएन । तर पछिल्लो समय उनी विभिन्न रोगले ग्रस्त थिए ।
नेपाली फुटबल इतिहासमा शाही एक राम्रा गोलरक्षक रुपमा चिनिन्छन् । दक्षिण एसिायली खेलकुद साग (साग) का स्वर्ण पदक विजेता ६५ वर्षे शाहीको अन्त्यष्टि दैलेखमै गरिने छ । सन् १९८४ मा काठमाडौंमा आयोजित पहिलो साफमा नेपाली टोलीले स्वर्ण पदक जित्दा उनी त्यसको सदस्य थिए । शाहीले आफ्नो करिअरमा १९८२ देखि १९८९ सम्म राष्ट्रिय टोलीबाट खेलेका थिए ।
उनले सन् १९८९ मा राष्ट्रिय टोलीबाट सन्न्यास लिएका थिए । उनले १९९५ देखि २००२ सम्म) एन्फाको महासचिवका रुपमा समेत जिम्मेवारी निर्वाह गरेका थिए । एन्फाबाट अलग भएपछि शाही नेपाल बक्सिङ संघको महासचिव बनेका थिए ।
२०७० सालमा उनकै नेतृत्वमा नेपालमा आइस हक्की संघ स्थापन्न भएको थियो । शाही आइस हक्की संकाका संस्थापक अध्यक्ष हुन् । नेपालमा आइस हक्कीको अन्तर्राष्ट्रिय रंगशाला बनाउने योजना उनको थियो ।
शाहीले घरेलु फुटबलमा भेरी अञ्चल र तत्कालिन महेन्द्र पुलिस क्लबबाट पनि खेले । उनी २०४० सालमा राष्ट्रिय खेलकुद परिषद्बाट सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।
फुटबलबाट बाहिरिए पनि शाही खेलकुदमा सक्रिय थिए । शाहीकै अग्रसरतामा नेपाल स्पोर्टस् डेभलेपमेन्ट एसोसिएसन गठन भएको थियो । २०५२ सालमा उनले एनएसडिएको नाममा फुटबल टोली तयार पारेर भारतमा आयोजना हुने विभिन्न फुटबल प्रतियोगितामा नेपाल टोलीलाई सहभागि गराएका थिए ।
खेलाडी तथा व्यवस्थापकीय रुपमा फुटबलमा सफल व्यक्तित्व केही समय अघि मानवतस्करी गरेको अभियोगमा जेल जलान भएको थियो ।