म्यानचेस्टर युनाइटेड समूह चरणबाट बाहिरियाे
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युइएफए च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा जर्मन क्लब आरबी लाइप्जिगसँग ३-२ ले पराजित भएसँगै युनाइटेड समूह चरणबाटै बाहिरिएको हो ।
लाइप्जिगलाई जित दिलाउनको लागि एन्जेलिनो, हैदरा र क्लुइभर्टले गोल गरे । म्यानचेस्टर युनाइटेडका लागि अन्तिम समयमा ब्रूनो फेर्नान्डेस र पउल पोग्बाले गोल गरे पनि हार टार्न सकेनन् ।
खेलकाे सुरू भएकाे २ मिनेटमै गाेल गर्दै लाइप्जिग अग्रता लिएकाे थियाे । एन्जेलिनो गाेल गर्दै लाइप्जिगलाई अग्रता दिलाएका थिए । त्यसकाे ११ मिनेटपछि हैदराले गाेल गर्दै लाइप्जिगकाे अग्रता देब्बर बनाए । पहिले हाफमा २ गाेल गरेकाे लाइप्जिगले दाेस्राे हाफमा १ गाेल थप्याे भने २ गाेल खायाे । खेलेकाे ६७ औँ मिनेटमा क्लुइभर्टले गाेल गर्दै लाइप्जिगलाई ३-० काे अग्रता दिलाए ।
८० औँ मिनेटमा फेर्नान्डेस पेनाल्टीमार्फत गाेल गर्दै युनाइटेडले १ गाेल फर्कायाे । त्यसकाे २ मिनेट नबित्दै पोग्बाले गाेल गर्दै गरेपछि पनि युनाइटेडकाे हार टरेन । यो समुह ‘एच’ बाट लाइप्जिगसँगै फ्रान्सेली पिएसजी नकआउट चरणमा पुगेकाे छ । जितपछि लाइप्जिग १२ अंकसहित समूह विजेता बन्यो । ९ अंक रहेको म्यानचेस्टर युनाइटेड तेस्रो स्थानमा रहन बाध्य भयो ।
समान ९ अंक नै भए पनि हेड टू हेडका आधारमा पिएसजी दोस्रो स्थानमा रहेर अन्तिम १६ मा पुगेको छ । युनाइटेड युरोपा लिगमा झरेको हो ।