रियल म्याड्रिडले एट्लेटिकोसँग अंक बराबरी गर्यो
स्पेनिस ला लिगामा रियल म्याड्रिड विजयी भएको छ। रियलले बुधबार भएको खेलमा ग्रानडालाई २-० गोलले पराजित गरेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५७ मिनेटमा रियलले अग्रता लियो। रियलका लागि कासेमिरोलले गोल गरे। उनलाई गोल गर्न एसेन्सियोले पास उपलब्ध गराए। दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा रियलले अग्रता दोब्बर पारेको थियो।
रियलका लागि करिम बेन्जिमाले दोस्रो गोल गरे। बेन्जिमाले इस्कोले दिएको पासलाई सदुपयोग गरेका थिए।यो रियलको सबै प्रतियोगितामा लगातार छैटौ र ला लिगामा लगातार पाँचौ जित हो।
जितसँगै रियलले अंक तालिकाको शीर्ष स्थानमा रहेको एट्लेटिको म्याड्रिडसँग अंक बराबरी गरेको छ। शीर्ष स्थानको एट्लेटिकोको १३ खेलबाट ३२ अंक छ। दुई खेल बढी खेलेको रियलको १५ खेलबाट ३२ अंक भएको छ।
रियल सोसिडाड १६ खेलबाट २६ अंक जोड्दै तेस्रो स्थानमा छ। चौथो स्थानको भिल्लारियलको १५ खेलबाट २६ अंक र १४ खेलबाट २४ अंक बटुलेको बार्सिलोना पाँचौ स्थानमा छन्।