रियल म्याड्रिडकाे सहज जित
स्पेनिस ला लिगामा रियल म्याड्रिडले सहज जित निकालेको छ । गएराति भएको खेलमा रियल म्याड्रिडले एइवरमाथि ३-१ ले पराजित गरेको हो ।
रियल म्याड्रिडलाई सहज जित दिलाउनको लागि फ्रेन्च फरवार्ड करिम बेन्जेमा, लुका मोड्रिच र लुकास भास्क्वेजले समान एक एक गोल गरे । बेन्जेमाले दुई गोलको लागि असिस्ट पनि गरे । किकेले गरेको गोल सान्त्वना बन्यो । रियलले खेलको छैटौँ मिनेटमा करिम बेन्जेमाको गोलबाट अग्रता लिएको थियो । रोड्रिगो गोएसले क्रस गरेको बललाई बेन्जेमाले गोल गरेका थिए ।
१३औं मिनेटमा लुका मोड्रिचले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । उनले बेन्जेमाको पासमा गोल गरेका थिए । २८औं मिनेटमा किकेले गोल गर्दै खेललाई २-१ को अवस्थामा ल्याए । उनले केभिन रोड्रिगेसको पासमा गोल गरेका थिए ।
इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा बेन्जेमाकै पासमा लुकास भास्क्वेजले सहज गोल गर्दै रियललाई ३-१ को सहज जित दिलाए । जितसँगै रियलले शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँग अंक बराबरी गरेपनि गोल अन्तरमा दोस्रो स्थानमा रहेको छ । रियलको १४ खेलबाट २९ अंक पुगेको छ ।
शीर्षस्थानको एट्लेटिको म्याड्रिडको १२ खेलबाट २९ अंक रहेको छ । पराजित एइवर १४ खेलबाट १५ अंक जोडेर १४औं स्थानमा छ ।