युभेन्टसकाे सहज जित
युइएफए च्याम्पियन्स लिगमा इटालियन क्लब युभेन्टसले सहज जित निकालेको छ । गएराति भएको खेलमा युभेन्टसले युक्रेनी क्लब डेनामो किएभलाई उसैको घरेलु मैदानमा ३-० गोल अन्तरले पराजित गरेको हो ।
युभेन्टसलाई सहज जित दिलाउनको लागि पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो, अल्भारो मोराटा र फेडरिको चियसाले समान एक-एक गोल गरे । खेलको २१औं मिनेटमा फेडरिको चियासाको गोलबाट युभेन्टसले अग्रता लिएको थियो । उनले एलेक्स सान्द्रोको पासमा गोल गरेका थिए ।
५७औं मिनेटमा रोनाल्डोले अल्भारो मोराटाको पासमा गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारे । ६६औं मिनेटमा फेडरिको चियसाको पासमा मोराटाले गोल गर्दै युभेन्टसलाई ३-० को सहज जित दिलाए ।
यस्तै यस खेलबाट नै स्टेफेन फ्रापपार्ट च्याम्पियन्स लिग खेलाउने पहिलो महिला रेफ्री बनेकी छिन् । फ्रान्सकी स्टेफेन फ्रापपार्टले गत वर्ष अप्रिलमा फ्रेन्च लिग वान खेलाएकी थिइन् । उनले च्याम्पियन्स लिगको डेब्यु खेलमा तीन खेलाडीलाई पहेलो कार्ड देखाइन् । किएभको एक पेनाल्टीलाई अस्वीकार गरेकी थिइन् ।
यो जितसँगै समूह ‘जी’ मा युभेन्टस १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । शीर्षस्थानको बार्सिलोनाको १५ अंक छ । किएभ र फेरेन्कभारोसको समान १ अंक छ ।