रोहित र उज्वलको जोडी च्याम्पियन
कपिलवस्तु (हाम्रो खेलकुद) – तौलिहवाका रोहित बराल र उज्वल श्रेष्ठको जोडी प्रथम जिल्लास्तरीय खुल्ला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियन बनेका छन् ।
कपिलवस्तु जिल्लाको वाणगंगा ब्याडमिन्टन क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा अजय कुमार चौधरी र अनुज यादवको जोडीलाई २–० को सोझो सेटमा पराजित गर्दै रोहित र उज्वलो जोडी च्याम्पियन बन्न सफल भएका हुन् ।
रोहित र उज्वलको जोडीले अजय र अनुजको जोडीमाथि २१–१० र २१–१३ को सहज जित निकालेको हो । रोहित र उज्वल कपिलवस्तुका जुनियर राष्ट्रिय खेलाडी हुन् । उनीहरु राजेश शाक्यको नियमित प्रशिक्षणमा रहेका छन् । अमर रेश्मी र अमृत खाँडको जोडीले तेस्रो स्थान हासिल गरे ।

च्याम्पियन जोडीले १० हजार रुपैयासहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे । दोस्रो भएको जोडीले ७ हजार तथा तेस्रो भएको जोडीले ५ हजार रुपैया हात पारे । विजयी खेलाडीलाई कपिलवस्तु जिल्ला खेलकुद बिकास समितिका पुर्व अध्यक्ष छवि रेश्मीले पुरस्कृत गरे ।
खेलाडीलाई पुरस्कृत गरेपछि पुर्व अध्यक्ष रेश्मीले निकट भविष्यमा प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने योजना रहेको बताएका छन् ।
प्रतियोगिता वाणगंगा जितपुर –४ मा रहेको कभर्डहलमा सम्पन्न भएको हो । ३ वटा कोर्ट रहेको उक्त कभर्डहल सम्पन्न हुने अवस्थामा रहेको छ ।