न्युजिल्याण्डविरुद्ध अष्ट्रेलियाको कीर्तिमानी जित
अष्ट्रेलियाको महिला क्रिकेट टिमले लगातार २१ औँ वानडे म्याच जित्दै नयाँ उपलब्धि हासिल गरेको छ । तीन खेलको सिरिजको अन्तिम म्याचमा न्युजिल्याण्डलाई २ सय ३२ रनले हराउँदै अष्ट्रेलियाले नयाँ उपलब्धि हासिल गरेको हो । न्युजिल्याण्डविरुद्ध यति ठूलो रन अन्तरले जितेको यो पहिलो पटक हो ।
बुधबार ब्रिसबेनमा भएको म्याचमा अष्ट्रेलियाले दिएको ३ सय २६ रनको लक्ष्य पछ्याएको पाहुना टोली न्युजिल्याण्डले २७ ओभरमा सबै विकेट गुमाएर ९३ रन मात्र बनाउन सक्यो । उसका लागि एमी स्ट्रेथवाइटले सर्वाधिक ४१ रन बनाइन् ।
बलिङमा अष्ट्रेलिया टिमकी मेगन शट, जेस जोनासेन, एशलेग गार्डनर र सोफी मोलिनेक्सले दुई/दुई विकेट लिइन् ।
यसअघि टस जितेर ब्याटिङको मौका पाएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय २५ रन बनायो ।
उसका लागि राहेल हेनेसले ९६, एलिसा हेलीले ८७, अन्नाबेल सदरल्याण्डले ३५, एशलेग गार्डनरले ३४, बेथ मूनी र तहलिया म्याक्ग्राले अविजित २९/२९ रन बनाइन् ।
बलिङमा न्युजिल्याण्ड टिमकी एमलिया केरले सर्वाधिक तीन विकेट लिइन् । यो जितसँगै तीन खेलको सिरिज अष्ट्रेलियाले ३-० ले क्लिन स्विप गरेको छ ।