आस्था राउतले कलाकर्मीबाटै समर्थन पाइनन्
(काठमाडौं) प्रहरीले अभद्र व्यवहारसम्बन्धी कसुरमा गायिका आस्था राउतलाई पक्राउ गर्ने तयारी गरेको छ । सिक्किमबाट आइतबार काठमाडौं फर्कन लागेकी आस्थाले विमानस्थलबाट सिधै प्रहरी हिरासतमा जानुपर्ने हुन सक्छ ।
आफूलाई विमानस्थलमा अमर्यादित व्यवहार गरेको भन्दै आस्थाले फेसबुकमा प्रहरीलाई गालीगलौज गरेकी थिइन् । विमानस्थलमा सुरक्षा जाँचका क्रममा बसेकी महिला प्रहरीले आफूलाई ‘तँ’ भन्दै दुर्व्यवहार गरेको उनको दाबी छ । उक्त घटनाको सीसीटिभी फुटेज प्रहरीले सार्वजनिक गरिसकेको छ । फुटेजमा आस्था र प्रहरीबीच विवाद भएको देखिए पनि आवाज नभएकाले अपशब्द प्रयोग भएको वा नभएको यकिन गर्न सकिंदैन ।
अहिले सामाजिक सञ्जालमा आस्थाको पक्ष र विपक्षमा बहस तीव्र छ । धेरैले चाहिँ आस्थाकै गल्ती औंल्याएका छन् । हुन पनि प्रहरीलाई मर्यादित बन्न सिकाउने आस्थाले फेसबुक लाइभमा आफैं अमर्यादित भाषा प्रयोग गरेकी थिइन् । उक्त घटनामा संलग्न महिला प्रहरी रमिता श्रेष्ठले आस्थाविरुद्ध प्रहरीमा अभद्र व्यवहारको उजुरी गरिन् । त्यसैका आधारमा प्रहरीले उनलाई पक्राउ गर्ने तयारी गरेको हो ।
एउटी चर्चित गायिकालाई संकट आइलाग्दा कलाक्षेत्रका व्यक्तिहरु भने अधिकांश मौन छन् । जसले मुख खोलेका छन्, उनीहरु पनि आस्थालाई समर्थन गर्न सकेका छैनन् । अनलाइनखबरले थुप्रै संगीतकर्मीहरुसँग कुरा गर्न खोज्दा उनीहरु टक्टकिए ।
संगीतकार सुरेश अधिकारीसँग यस विषयमा कुरा गर्न खोज्दा उनले आफूलाई घटनाको विषयमा केही थाहा नभएको दाबी गरे । आफू निजी काममा व्यस्त रहेकाले समाचारमा ध्यान दिन नपाएको उनको भनाइ छ ।