बलिउड निर्देशक प्रकाश झा नेपाल आउने
(काठमाडौँ) सामाजिक–राजनीतिक विषयमाथि फिल्म बनाउन माहिर बलिउड निर्देशक प्रकाश झा नेपाल आउने भएका छन् । तेस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को मुख्य निर्णायकका रुपमा झा नेपाल आउने भएका हुन् ।
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा राजधानीको राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा १ फागुनदेखि पाँच दिनसम्म महोत्सव चल्नेछ । माघको अन्तिममा झा नेपाल आइपुग्ने प्रतिष्ठानका अध्यक्ष केपी पाठकले जानकारी दिए ।
पाठकका अनुसार नेपाली फिल्मकर्मीमाझ झाको ‘मास्टर क्लास’ पनि हुनेछ । पाठक भन्छन्, ‘झाले ज्वलन्त सामाजिक विषयमाथि सशक्त फिल्म बनाउनुहुन्छ । त्यसैले हामीले उहाँलाई रोजेका हौं ।’
झाले निर्देशन गरेका चर्चित फिल्ममा ‘गंगाजल’, ‘राजनीति’, ‘आरक्षण’, ‘चक्रब्युह’, ‘सत्याग्रह’ लगायत छन् । झा नेतृत्वको निर्णायक मण्डलमा गौरी मल्ल, मञ्जुकुमार श्रेष्ठ, पोर्चुगिज फिल्ममेकर जाओ पाओलो र सिंगापुरका फिल्ममेकर युनी हाडी सदस्य छन् ।
महोत्सव दौरान हलिउड फिल्मकर्मी ज्याक स्टेन्ज र नेट्फलेक्सका प्रतिनिधिले डिजिटल फिल्म मार्केटिकबारे कार्यशाला सञ्चालन गर्ने पनि पाठकले बताए । जसमा दुई सय नेपाली फिल्मकर्मी सहभागी हुने पाठकले जानकारी दिए । भन्छन्, ‘अनलाइनमा फिल्म कसरी बेच्ने, प्याकेजिङ गर्ने र सम्बन्ध विस्तार गर्ने भन्ने विषयमा उहाँहरुले बताउनुहुनेछ । यसले हाम्रा फिल्म विदेशी बजारमा पुग्न सहज हुने विश्वास लिएका छौं ।’