स्वप्निल उडानमा गौरिका
(काठमाडौं) गौरिका सिंह, १३ औं दक्षिण एसियाली खेलकुद (साग) सँगै यो नाम नेपाली खेलकुदमा अविस्मरणीय बनेको छ । स्मरणीय के छ भने उनी भर्खर १७ वर्षकी किशोरी हुन् र उनले लामो यात्रा गर्न बाँकी छ ।
घरेलु भूमिमा आयोजित १३ औं सागमा गौरिकाले सिंगो देशको इज्जत बढाइन् । नेपालले गौरव गर्नलायक खेलाडी पाएको छ । दक्षिण एसियाली प्रतियोगितामा उनले बनाएका कीर्तिमानहरुले अरु खेलाडीलाई पनि प्रेरणा दिनेछ ।
पौडीको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको प्रदर्शन कमजोर थियो । सागका १२ वटा संस्करणमा नेपालले पौडीतर्फ जितेको जम्मा एउटा स्वर्ण हो, त्यो पनि भाग्यले पाएको (सन् १९९९ मा नेपालमै भएको आठौं साफ खेलकुदको टिम इभेन्टमा नेपाल तेस्रो भएको थियो, तर भारत र पाकिस्तानका खेलाडी प्राविधिक गल्तीका कारण ‘डिस्क्वालिफाइड’ भएपछि नेपाललाई स्वर्ण हात लागेको थियो) ।
र १३ औं सागमा गौरिका एक्लैले ४ स्वर्ण पदक नेपाललाई दिलाएकी छन् । सागको ३५ वर्ष लामो इतिहासमा यो कुनै पनि नेपाली खेलाडीको सर्वोत्कृष्ट प्रदर्शन हो । नौवटा इभेन्टमा प्रतिस्पर्धा गरेकी गौरिकाले ४ स्वर्ण दुई रजत र ३ कांस्य पदक प्राप्त गरिन् । कुल मिलाएर दुईवटा सागमा उनको पदक संख्या ४ स्वर्ण, ३ रजत र ६ कास्यसहित १३ वटा पुगेको छ । यति धेरै पदक अहिलेसम्म कुनै पनि नेपाली खेलाडीको नाममा छैन ।
यद्यपि तेक्वान्दोका लिजेन्ड दीपक विष्टले लगातार ४ वटा सागमा ४ स्वर्ण पदक जितेका छन् ।