स्वर्ण गुमाएर पनि जितेका नेपाली
(काठमाडौं) खेल हो, हारजित हुन्छ नै । तर कुनै कुनै हारहरुले तपाईंलाई विथोल्छ । मंगलबार नेपालको महिला भलिबल टोलीले १३औं दक्षिण एसियाली खेलकुद (साग)को फाइनलमा भारतसित व्यहोरेको हार त्यस्तैमध्येको हो ।
हुन त यो सागमा नेपालले स्वर्ण पदकको वर्षा नै गरेको छ । तर, पनि सायद भलिबलको यो स्वर्ण अलि ‘बहुमूल्य’ थियो । यसका केही कारण छन् । पहिलो त टिम गेममा स्वर्ण जित्नुको महत्व बढी हुन्छ । दोस्रो, नेपालको राष्ट्रिय खेल भएको हिसाबले नेपालले भलिबलको स्वर्ण आफ्नै घरभित्र राख्नुको बेग्लै गरिमा हुन्थ्यो । तेस्रो, भलिबलमा नेपालले अहिलेसम्म भारतलाई एकपटक पनि हराएको इतिहास छैन । चाहे त्यो महिला भलिबल होस वा पुरुष ।
केही दिन अगाडि मात्रै पहिलो अन्तर्राष्ट्रिय स्वर्णको रुपमा सेन्ट्रल जोन भलिबल प्रतियोगिता जितेर नेपाली महिला भलिबल टोलीले इतिहास रचेका थिए । यो सागमा पनि उनीहरुले अर्को इतिहास त रचिसकेका थिए, नेपाललाई फाइनलमा पुर्याएर । यसअघिका १२ वटा सागमा नेपालले महिला भलिबलमा जितेको भनेको तीन कास्य हो । यसपाली भने नेपाली टिमलाई स्वर्णकै भोक थियो ।
तर, त्यसका लागि पन्छाउनु थियो भारतलाई, जसले सागमा लगातार आफ्नो दबदबा कायम गरेको छ ।
सायद नेपालीहरुले पहिलोपटक टेलिभिजनमा नेपालको भलिबल म्याचको लाइभ यति कौतुहलतापूर्वक हेरेका थिए । फाइनल भिडन्त भएकाले मात्र पनि होइन, भारतविरुद्धको प्रतिस्पर्धा भएकाले पनि नेपालीहरुमा बढि उत्साह एवं भावुकता थियो । खेल पनि यति तनावपूर्ण बन्यो कि मुटुको धड्कन थामिने खालको ।
त्यसो त फाइनल म्याच अगाडि भारतको जितलाई केवल औपचारिकता ठानिएको थियो । समूह चरणमा यही भारतले नेपाललाई ३-० को सोझो सेटमा हराएको हो । त्यसैले पनि नेपालले जित्ने आशा क्षिण नै थियो । तर नेपाली चेलीहरुले साहसिक प्रदर्शन गरे । पहिलो सेट हारेका उनीहरुले दोस्रो र तेस्रो सेटमा रोमाञ्चक जित निकाल्दै भारतलाई २-१ को रक्षात्मक स्थितिमा पुर्याए । पहिलो सेटमा नेपालमाथि हावी हुँदै भारतले २५/१७ को जित निकालेको थियो । तर दोस्रो सेट २५-२४ र तेस्रो २५-२१ ले जितेर नेपालले भारतलाई स्तब्ध तुल्याइदियो । आफूभन्दा बलियो प्रतिस्पर्धीसँग संघर्षपूर्वक १-१ अंक जोड्दै दुई सेटमा माथ दिनु नेपाली चेलीहरुको बहादुरी प्रदर्शन हो ।
त्रिपुरेश्वरस्थित कभर्डहलमा दर्शकहरु खचाखच थिए । यस्तो माहोलले दुई धारे तरबारको काम गर्छ । एकातर्फ हौसला बढाउँछ भने अर्कोतर्फ दबाब । सायद नेपाली महिला भलिबल खेलाडीहरुले यस्तो चर्को हुटिङका बीच विरलै खेलेका थिए । तर कुनै पनि क्षणमा उनीहरुको सन्तुलन डग्मगाएको देखिएन ।
खेल हेर्दा भारतभन्दा नेपाली टिम एउटै पक्षमा अलि कमजोर देखियो- स्पाइक । त्यसो त स्पाइकबाट नेपालले धेरै अंक बटुल्यो पनि । खासगरी सरस्वती चौधरी र प्रतिभा मालीले निकै सटिक प्रहारहरु गरे । तर, भारतीय स्पाइकरहरुको प्रहार अलि बढि तेज र शक्तिशाली थियो । दुई टिमबीचको फरक यही नै भयो । बाँकी सर्भिस, ब्लक, रिसिभ सबै पक्षमा नेपाली खेलाडी चुस्त थिए ।
दोस्रो र तेस्रो सेट लगातार जित्दा नेपाली टिमको मनोबल उच्च थियो । त्यतिबेला भारतीय टिम नर्भस भएकै हो । तर चौथो सेटमा भारतले कमब्याक गर्न सफल हुनु नै नेपालको दुर्भाग्य भयो । गुमाउन आँटेको खेल पाँचौं सेटमा पुगिसकेपछि भारतीय टिमको खस्केको मनोबल फर्कियो । र, नेपाली टिममाथि पूर्णरुपमा हावी भए । निर्णायक समयमा नेपाली टिमको लय बिगि्रयो ।
पक्कै पनि यो हार नमिठो थियो । सजिलै हारेको भए त्यसलाई पचाउन पनि सजिलो हुन्थ्यो होला । जितको आभास पाइसकेपछि हार व्यहोर्नुपर्दा बढि पीडा हुन्छ नै । तर आज नेपाली भलिबल टिमले हारेर पनि जितेको भन्नुपर्छ । भारतलाई कडा टक्कर दिएर नेपाली महिला भलिबलले आफ्नो स्तरवृद्धिको सन्देश दिएको छ । सेन्ट्रल जोनमा जितेको स्वर्ण कुनै कागतालीले हासिल भएको थिएन भन्ने खेलाडीहरुले पुष्टि गरे । तर यो टिम अझै माथि उठ्ने ठाउँ छ र उठ्नुपर्छ । खेलाडीहरुले यो चोटलाई उर्जामा बदल्नुपर्छ ।