प्रधानमन्त्रीको स्वर्ण पदक जित्ने खेलाडीलाई ९ लाख दिने घोषणा
(काठमाडौं) सरकारले १३ औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण पदक विजेता खेलाडीहरुलाई जनही ९ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पदक विजेता खेलाडीहरुलाई बुधबार बालुवाटारमा बोलाएर पुरस्कार घोषणा गरेका हुन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश सिलवालका अनुसार स्वर्ण विजेता खेलाडीले ९ लाख रुपैयाँ पाउनेछन् । एक भन्दा बढी स्वर्ण जित्नेलाई जनही ११ लाख रुपैयाँ दिइनेछ ।
१३औं सागमा पौडीकी गौरिका सिंहले चार स्वर्ण जितेकी छन् भने कराँतेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुवास तामाङले दुई स्वर्ण जितेका छन् ।
यस्तै टिम इभेन्टमा स्वर्ण जित्ने टोलीका हरेक सदस्यलाई जनही ५ लाख रुपैयाँ दिइने प्रधानमन्त्रीले बताए । टिम इभेन्टतर्फ नेपालले पुरुष फुटबल, तेक्वान्दोको पुम्से र कराँतेको काता र गल्फ टिममा नेपालले स्पर्ण पदक जितेको छ ।
स्वर्ण पदक जित्ने खेलाडीका प्रशिक्षकहरुले पनि जनही ५ लाख रुपैयाँ पाउनेछन् । यस्तै सागमा रजत जित्नेले ६ लाख र कांस्य जित्नेलाई ३ लाख पाउने भएका छन् । तर टिम इभेन्टमा रजत र कांस्य जित्ने खेलाडीहरुले कति पाउँछन् भन्ने खुलाइएको छैन ।
नेपालले महिला भलिबल, कबड्डीलगायतका टिम इभेन्टमा रजत र कांस्य जितेको छ ।
साथै पदक जित्ने टिमका म्यानेजर र अन्य सहयोगीले पाउने रकम पनि खुलाइएको छैन । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव सिलवालले पुरस्कारसम्बन्धी कार्यविधि मन्त्रिपरिषदले पारित गरेपछि यसबारे प्रष्ट हुने जानकारी दिए । काठमाडौंमा मंगलबार सकिएको सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्यपदक प्राप्त गरेको थियो । यसअघि सरकारले स्वर्ण पदक जित्ने खेलाडीलाई ५ लाख, रजत जित्नेलाई ३ लाख र कांस्य जित्नेलाई २ लाख रुपैयाँ पुरस्कार दिँदै आएको थियो ।
यो पटक भने पुरस्कार रकम झण्डै दोब्बर भएको छ । ‘हाम्रो जस्तो गरिव देशको सरकारले उचित सम्मान गर्यो भन्ने लाग्छ’ प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्रीले पुरस्कार घोषणा गर्दा हलमा सहभागीहरुले हुटिङसहित ताली बजाएका थिए ।
प्रधानमन्त्रीले कास्य र रजत पदक जिवेतालाई दिइने रकम घोषणा गर्दा हरेक पदक बापत भन्ने शब्द प्रयोग गरेका थिए । एकभन्दा बढी स्वर्णको पुरस्कार घोषणा गर्दा ‘एउटाभन्दा बढी स्वर्ण ल्याउने खेलाडीले ११ लाखका दरले प्राप्त गर्नेछन्’ भनेका छन् । यसका आधारमा कतिपयले एक स्वर्ण बराबर ११ लाख रुपैयाँ बुझे ।
स्वयं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले समेत त्यही ब्याख्या गरे । र, ४ स्वर्ण, दुई रजत र तीन कांस्य जितेकी गौरिका सिंहले ६५ लाख रुपैयाँ पाउने हिसाब सुनाए ।
जबकी पुरस्कार घोषणाका लागि पहल गरेका राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव सिलवालको भनाइ फरक छ । उनले प्रष्ट शब्दमा भनेका छन्, स्वर्ण जित्नेले ९ लाख र एकभन्दा बढी स्वर्ण जित्नेले ११ लाख रुपैयाँ पाउने छन् ।
प्रधानमन्त्रीको सम्बोधनलाई एकभन्दा बढी स्वर्ण जित्नेले ११ लाखका दरले पाउने अर्थका रुपमा बुझिएको विषयमा प्रश्न गर्दा उनले त्यसबारे थाहा नभएको बताए । उनले भने, पुरस्कारको केही क्याटगोरी घोषणा हुन बाँकी छ । कुन विधामा कसले कति पुरस्कार पाउने क्याबिनेटबाट कार्यविधिमा पारित भएपछि थाहा हुन्छ ।’
प्रधानमन्त्री : स्वर्ण जित्न गाह्रो छ
प्रधानमन्त्री ओलीले पदक विजेताहरुको पुरस्कार घोषणा गर्नुअघि झण्डै एक घन्टा लामो भाषण गरेका थिए । यस पटक फुटबलमा नेपालले स्वर्ण जित्दा निकै आनन्द आएको समेत सुनाए । साथै फुटबल कसरी खेल्नुपर्छ भन्ने पनि सुनाए ।
यस्तै १३ औं सागमा नेपालले जितेको ५१ स्वर्ण त्यसै नआएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘केहीले यसको आलोचनासमेत गरे, तर स्वर्ण जित्न कठिन छ ।’
उनले स्वर्ण जित्नेले आफ्नो कीर्तिमान आफैं तोड्नुपर्ने धारणा राखे । ‘स्वर्ण जित्नेले आफ्नो कीर्तिमान आफैं तोड्नुपर्छ । रजत र कास्य जित्नेले सुधार गर्नुपर्छ । ४ स्वर्ण जित्नेले आफ्नो कीर्तिमान आफैं तोड्नुपर्छ,’ १३ औं सागमा ४ स्वर्ण जितेको गौरिका सिंहतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले भनेका छन् ।