सन्दीपलाई दिल्लीले रिलिज नगर्ने
(काठमाडौं) नेपालका युवा स्टार सन्दीप लामिछानेले आईपीएलका दुई संस्करण खेले । सन् २०१७ मा पहिलोपटक आईपीएल खेलेका सन्दीप त्यसयता अन्तर्राष्ट्रिय टी-२० फ्रेन्चाइज लिगमा यत्रतत्र छाएका छन् ।
एक वर्षभित्र सर्वाधिक देशमा क्रिकेट खेलेको रेकर्ड नै बनाएका सन्दीपका लागि सबैभन्दा महत्वपूर्ण भने आईपीएल नै हो । विश्वकै चर्चित लिग भएकाले मात्र होइन, सन्दीपलाई एक्सपोजर दिलाउने पहिलो प्लेटफर्म भएकाले पनि यो उनका लागि महत्वपूर्ण छ ।
आईपीएलको १३ औं संस्करण सन् २०२० को अप्रिल-मेमा हुँदैछ । यसका लागि आगामी १९ डिसेम्बरमा अक्सन हुनेछ ।
सन्दीपले सन् २०१८ मा दिल्ली डेयरडेभिल्स (अहिले दिल्ली क्यापिटल) बाट आईपीएलमा डेब्यू गरेका थिए । उनलाई २० लाख भारुमा दिल्लीले खरिद गरेको थियो, जुन आईपीएलको न्यूनतम मूल्य हो । सन् २०१९ को आईपीएलमा दिल्लीले उनलाई रिटेन गर्यो । त्यसैले सन्दीपको मूल्य यथावत् रह्यो ।
दिल्लीको सन्दीपसँग ३ वर्षको सम्झौता छ । त्यसैले यसपालि पनि उनलाई दिल्लीले चाहेमा आफूसँगै राख्न सक्छ ।
सन्दीपकै स्तरको खेलाडीलाई भित्र्याउन करोडौं मूल्य खर्चिनुपर्ने भएकाले दिल्लीले उनलाई यसपालि पनि रिलिज नगर्ने सम्भावना बलियो छ ।
यसो भएमा सन्दीपलाई आर्थिकरुपमा घाटा हुनेछ किनकी अक्सनमा आएमा उनलाई अरु टिमले महंगोमा खरिद गर्न सक्छन् । सन्दीपको स्तरअनुसार कम्तिमा दुई करोड भारु उनले पाउनुपर्ने हो । उनकै स्तरका अफगानिस्तानी खेलाडी मुजिब उर रहमानलाई गत वर्ष पञ्जाबले चार करोड भारुमा खरिद गरेको थियो ।
तर, महंगो बेस प्राइसमा अक्सनमा जाँदा कहिलेकाहीँ नबिक्ने खतरा पनि हुन्छ । सन्दीपले २०१९ को आईपीएलमा आफ्नो उत्कृष्ट लय कायम राख्न सकेका थिएनन् । फलस्वरुप दिल्लीले आधाजसो म्याचमा बेन्चमा राखेको थियो ।