गगन नेतृत्वको कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा
नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले गगन थापा नेतृत्वमा सुरु भएको पार्टीको महाधिवेशनमा आफू कुनै पनि रूपमा सहभागी नहुने बताएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै खड्काले विशेष महाधिवेशन र त्यसबाट निर्वाचित सभापति तथा कार्यसमितिको वैधानिकतासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले आफू महाधिवेशन प्रक्रियाबाट बाहिर रहेको बताएका हुन्।
उनले सर्वोच्च अदालतबाट मुद्दाको अन्तिम टुंगो नलागेसम्म थापा नेतृत्वको महाधिवेशनमा सहभागी हुनु आफूलाई अनैतिक लाग्ने उल्लेख गरेका छन्। पार्टी विभाजनको अवस्था आउन सक्ने भन्दै खड्काले विवाद छिटो टुंग्याउन सर्वोच्च अदालतसँग आग्रहसमेत गरेका छन्।