आगजनीपछि भाटभटेनीको टंगाल स्टोर भोलिदेखि पुनः सञ्चालनमा
जेन-जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको भाटभटेनी सुपर मार्केटको टंगाल स्टोर भोलि (सोमबार) देखि पुनः सञ्चालनमा आउने भएको छ ।
भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार टंगाल स्टोर सोमबार बिहान १० बजेदेखि औपचारिक रूपमा ग्राहकका लागि खुला गरिनेछ।
आगजनीका कारण ठूलो क्षति व्यहोरेको स्टोरको पुनर्निर्माण सम्पन्न भएपछि पुनः सञ्चालनमा ल्याउन लागिएको हो ।
कम्पनीका अनुसार जेन-जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका १२ वटा स्टोरमध्ये टंगालसहित १० वटा स्टोर पुनः सञ्चालनमा आइसकेका छन् ।
बाँकी दमक र हेटौँडास्थित स्टोरको पुनर्निर्माण पनि अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ। ती दुवै स्टोरसमेत छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले कठिन परिस्थितिकाबीच पुनर्निर्माणमा सहयोग गर्ने ग्राहक, कर्मचारी तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्। उनले आगजनीबाट स्टोरहरूमा ठूलो क्षति पुगे पनि त्यसलाई चुनौतीका रूपमा लिएर पुनः सञ्चालन गर्ने लक्ष्यका साथ अघि बढेको बताएका छन्।
“मनमा पीडा थियो, आँखामा आँसु थियो, आँखै अगाडिका स्टोरमा आगो बलिरहेका थिए। तर पनि हामीले राज्यप्रतिको दायित्व बिर्सिएनौँ,” गुरुङले भनेका छन्, “हामी एउटा निष्कर्षमा पुग्यौँ– खरानीबाट फेरि उठ्ने छौँ।”
आन्दोलनका क्रममा ठूलो भौतिक क्षति भए पनि कम्पनीले आफ्ना १० हजारभन्दा बढी कर्मचारीको रोजगारीलाई निरन्तरता दिएको जनाएको छ। कम्पनीका अनुसार कठिन अवस्थामा समेत कर्मचारीलाई सेवाबाट अलग नगरिएको र गत वर्षको दसैँ बोनससमेत कटौती नगरिएको हो।
‘हामीले कर्मचारीलाई रोजगारीबाट अलग गरेनौँ, गत वर्षको दसैँ बोनससमेत कटौती नगरी उनीहरूको रोजगारीलाई निरन्तरता दियौँ,’ गुरुङले विज्ञप्तिमार्फत भनेका छन्।
कम्पनीले पुनर्निर्माणका क्रममा चौबीसै घण्टा खटिएका कर्मचारी तथा सहयोगीहरूप्रति पनि धन्यवाद व्यक्त गरेको छ। टंगाल स्टोर पुनः सञ्चालनमा आएसँगै ग्राहकलाई नियमित रूपमा आवश्यक वस्तु तथा सेवाहरू उपलब्ध गराउने कम्पनीले जनाएको छ।
भाटभटेनीले आगामी दिनमा पनि ग्राहकलाई आधुनिक सुविधा, गुणस्तरीय सेवा र सहज किनमेलको वातावरण उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याएको छ। पुनर्निर्माणमा साथ दिने ग्राहक, सहयोगी संस्था तथा शुभेच्छुक र प्रतिकूल परिस्थितिमा निरन्तर खटिएका कर्मचारीप्रति कम्पनीले विशेष आभार व्यक्त गरेको छ।