एटीएमबाट १ सय दरका नोट पनि वितरण गर्न बैंकर्स संघलाई राष्ट्र बैंकको परिपत्र
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका एटीएम मेसिनबाट १ सय दरका नोटहरू पनि वितरण गर्ने व्यवस्था मिलाउन नेपाल बैंकर्स संघलाई पत्राचार गर्दै अनुरोध गरेको छ । हाल बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना एटीएम मेसिनहरूबाट १ हजार र ५ सय रुपैयाँ दरका नोटहरू मात्र वितरण गर्दै आएका छन् ।
तर, सर्वसाधारणले १ सय दरका नोटहरू पनि एटीएम मेसिनबाटै उपलब्ध गराउनुपर्ने माग बेलाबेलामा आउने गरेको भन्दै राष्ट्र बैंकले सो अनुरोध गरेको हो । नजिकिँदै गरेको चाड बडादशैँको उपलक्ष्यमा १ सय दरका नोटहरू एटीएमबाटै वितरण गर्न सकिएमा बैंकहरूमा साना दरका नोट साट्ने ग्राहकहरूको भीड उल्लेख्य रूपमा कम हुने राष्ट्र बैंकको आंकलन रहेको छ ।
सो सम्बन्धी व्यवस्था गर्न प्राविधिक रूपमा सम्भव रहेको जानकारी समेत प्राप्त भएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालद्वारा हस्ताक्षरित पत्रमा सर्वसाधारण ग्राहकको सुविधा र चाडपर्वको समयमा बैंकहरूमा हुने भीड व्यवस्थापनलाई ध्यानमा राखी १ सय दरका नोटहरू पनि एटीएमबाट वितरण गर्ने व्यवस्था मिलाउन सहयोगका लागि आग्रह गरिएको छ ।