भोटेकोशी बाढी : चितवनमा ३३५ शवको व्यवस्थापन, पहिचानका लागि डीएनए परीक्षण तीव्र
चितवन — रसुवाको भोटेकोशीमा भदौ १० गते आएको भीषण बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा फेला परेका शवमध्ये ३३५ वटाको व्यवस्थापन गरिएको छ। तीमध्ये १२९ वटा शवको लिङ्गसमेत पहिचान हुन सकेको छैन।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म जिल्लामा ३४८ शव फेला परेका छन्। तीमध्ये ३३५ शवको व्यवस्थापन गरिएको, १२ शवको सनाखत भइसकेको र एउटा शव व्यवस्थापन गर्न बाँकी रहेको छ।
शव व्यवस्थापनमा कठिनाइ भएपछि प्रहरीले डीएनए नमूना सुरक्षित राखेर शनिबारदेखि भरतपुर महानगरपालिका–१ स्थित देवघाटको जङ्गलमा खाडल खनी शव राख्न थालेको हो। शनिबार ९६, आइतबार १०३, सोमबार ८१ र मंगलबार ५५ शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।
व्यवस्थापन गरिएका शवमध्ये १२९ वटा लिङ्ग पहिचान नभएका छन्। त्यस्तै १०७ पुरुष, ७३ महिला, १५ बालिका र ११ बालक रहेका छन्। सनाखत भएका शव परीक्षणपछि परिवारलाई बुझाइएको छ।
नदी किनारमा शव फेला पर्ने क्रम अझै जारी रहेकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली खोजी तथा व्यवस्थापनमा परिचालन गरिएको छ।
हराइरहेकाको पहिचानका लागि आफन्तको डीएनए सङ्कलन
बाढीपछि फेला परेका शवको पहिचानका लागि चितवनमा आफन्तको डीएनए नमूना सङ्कलन सुरु गरिएको छ।
जिल्ला प्रहरी कार्यालयले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भक्तपुर सेवा इकाइ र जनस्वास्थ्य कार्यालयको सहयोगमा भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग सङ्घ परिसरमा मंगलबारदेखि नमूना सङ्कलन थालेको हो।
प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म नमूना सङ्कलन भइरहेको छ। हराइरहेका व्यक्तिका पहिलो तहका आफन्त—बुबा, आमा, छोरा वा छोरीमध्ये उपलब्ध कुनै एकजनाको रगतको नमूना सङ्कलन गरी डीएनए परीक्षण गरिनेछ।
नमूना दिन आउने आफन्तले परिचय खुल्ने आधिकारिक कागजात र दुई प्रति पासपोर्ट आकारको फोटो ल्याउनुपर्ने प्रहरीले जनाएको छ।
नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालाका प्रहरी निरीक्षक सन्देशकुमार पोखरेलका अनुसार शवबाट मुख्यतः दाँत र हड्डीका नमूना सङ्कलन गरी डीएनए प्रोफाइल तयार गरिन्छ। उक्त प्रोफाइललाई आफन्तबाट सङ्कलन गरिएको डीएनएसँग म्याचिङ गरी शवको पहिचान गरिनेछ।
पहिलो तहका आफन्त उपलब्ध नभए दाजुभाइ वा दिदीबहिनीको डीएनए नमूनाबाट समेत परीक्षण गर्न सकिने उनले बताए।
नेपालका प्रयोगशालाको क्षमता र आवश्यक परे वैदेशिक सहयोगसमेत परिचालन गरी कम्तीमा १२ हप्ताभित्र सबै नमूनाको परीक्षण तथा डीएनए म्याचिङ सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
चितवनबाहिर रहेका आफन्तले सम्बन्धित जिल्लाको जिल्ला प्रहरी कार्यालयमा पुगेर नमूना दिन सक्ने व्यवस्था गरिएको छ। विदेशमा रहेका आफन्तले सम्बन्धित देशस्थित नेपाली दूतावास वा कूटनीतिक नियोगमार्फत नमूना उपलब्ध गराउन सक्नेछन्। त्यस्तै नेपाल प्रहरीको आधिकारिक वेबसाइटमार्फत आफ्नो डीएनए प्रोफाइलको सफ्ट कपी पठाएर पनि परीक्षण प्रक्रियामा सहभागी हुन सक्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।
देवघाटमा दीप प्रज्ज्वलन गरेर श्रद्धाञ्जली
भरतपुर–१ देवघाटस्थित जङ्गलमा शव व्यवस्थापन गरिएको स्थानमा मंगलबार साँझ दीप प्रज्ज्वलन गरी मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, अस्पतालका प्रमुख तथा सर्वसाधारण सहभागी थिए। विभिन्न समुदायका प्रतिनिधिले समेत दीप प्रज्ज्वलन गरी मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।
रामजानकी बालिका आश्रम देवघाटका कन्याहरूले गीता पाठ गरेका थिए भने विभिन्न धार्मिक समुदायका प्रतिनिधिले पनि श्रद्धाञ्जली अर्पण गरेका थिए।
जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारी र प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले दीप प्रज्ज्वलन गर्दै दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली व्यक्त गरे।
सम्बन्धित निकायले देवघाटमा गरिएको व्यवस्थापनलाई अन्तिम संस्कार नभई शवको पहिचान नहुँदासम्मका लागि गरिएको अस्थायी व्यवस्थापन मात्र भएको स्पष्ट पारेका छन्। उक्त क्षेत्रलाई १२ वर्षसम्म अस्थायी शव व्यवस्थापनस्थलका रूपमा प्रयोग गरिने जनाइएको छ।