साँफे–मार्तडी राजमार्गमा बस दुर्घटना, २३ जना घाइते
बाजुरा — साँफे–मार्तडी राजमार्गअन्तर्गत बुढीगङ्गा नगरपालिका–१० स्थित रिठा बजार नजिक आज बस दुर्घटना हुँदा २३ जना यात्रु घाइते भएका छन्।
महेन्द्रनगरबाट यात्रु लिएर गइरहेको सुपप्र ०१–००१ ख १३५५ नम्बरको बस ब्रेक फेल भएपछि बीच सडकमा अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिएका छन्।
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी टोली उद्धारमा खटिएको र सबै घाइतेलाई तत्काल जिल्ला अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ। प्रारम्भिक जानकारीअनुसार घाइतेहरूको अवस्था सामान्य रहेको छ।