रास्वपा महाधिवेशनमा उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र, ९९ केन्द्रीय सदस्यका लागि सयौं आकांक्षी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन नजिकिँदै जाँदा नेतृत्व तहमा उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र बनेको छ। विभिन्न पदमा दाबेदारी प्रस्तुत गर्ने नेताहरूको संख्या बढ्दै गएको छ।
हालसम्म केन्द्रीय सदस्य पदका लागि चार–पाँच जना नेताले सार्वजनिक रूपमा उम्मेदवारी घोषणा गरिसकेका छन्। यसअघि पार्टी सभापति पदका आकांक्षीहरूले पनि आफ्नो दाबेदारी सार्वजनिक गरेका थिए।
केन्द्रीय सदस्य पदका लागि बोहराले उम्मेदवारी घोषणा गरेका छन्। यस्तै, नेतृ रन्जु दर्शनाले पनि पहिलो महाधिवेशनमार्फत केन्द्रीय नेतृत्वमा प्रवेशका लागि उम्मेदवारी दिने घोषणा गरेकी छन्।
यसैबीच, अशोककुमार चौधरीलगायत अन्य नेताहरूले पनि केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। महाधिवेशनबाट ९९ सदस्यीय केन्द्रीय समिति चयन हुने भएकाले नेतृत्वमा प्रतिस्पर्धा चर्किने संकेत देखिएको छ।
पार्टी स्रोतका अनुसार ९९ केन्द्रीय सदस्य पदका लागि तीनदेखि चार सयसम्म आकांक्षी मैदानमा उत्रिन सक्ने अनुमान गरिएको छ। आकांक्षीहरूको उच्च संख्याले महाधिवेशनलाई थप प्रतिस्पर्धात्मक बनाउने देखिएको छ।
रास्वपाको पहिलो महाधिवेशनलाई पार्टीको भावी नेतृत्व चयन, संगठन सुदृढीकरण तथा राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।