पूर्वमन्त्री तथा कांग्रेस नेता राजेन्द्र खरेलको निधन
नेपाली कांग्रेसका पुराना नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ। दमलगायत स्वास्थ्य समस्या देखिएपछि उनलाई केही दिनअघि अस्पताल भर्ना गरिएको थियो। गएराति काठमाडौँस्थित अस्पतालमा उनको निधन भएको हो।
वि.सं. २००३ मा काभ्रेमा जन्मिएका खरेल २०३६ सालको जनमत संग्रहदेखि २०६२–०६३ को जनआन्दोलनसम्म सक्रिय राजनीतिक भूमिकामा थिए। उनले झण्डै ९ वर्ष जेल जीवन पनि बिताएका थिए। २०५६ सालमा सांसद बनेपछि उनी शिक्षा राज्यमन्त्री र पछि महिला, बालबालिका तथा समाज कल्याण मन्त्री बनेका थिए।
उनको पार्थिव शरीर आज बिहान कांग्रेस केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।