सञ्चार मन्त्रालयको १०० बुँदे सुधार कार्ययोजना: एक महिनामा भएका प्रमुख उपलब्धि सार्वजनिक
काठमाडौं — सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूची अन्तर्गत एक महिनामा भएका प्रगति सार्वजनिक गरेको छ।
मन्त्रालयका अनुसार राहदानी घरमै पुर्याउने सेवा सुरु गरिएको छ भने नेपाल दूरसञ्चार प्राधिकरणमार्फत ११ हजारभन्दा बढी सट्टेबाजी एप तथा वेबसाइट बन्द गरिएको छ।
सुरक्षण मुद्रण केन्द्रमार्फत सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) २४ घण्टाभित्र छपाइ गरी हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको छ। हालसम्म १२ लाख लाइसेन्स छपाइ भइसकेको र थप १७ लाख असार मसान्तसम्म पूरा गर्ने लक्ष्य राखिएको छ। साथै ३० लाख हुलाक टिकट छपाइ पनि सम्पन्न भएको छ।
हुलाक सेवालाई ‘सरकारी कुरियर’ का रूपमा विस्तार गर्दै राहदानी घरमै पुर्याउने सेवा कालिकोट, सिन्धुपाल्चोक, बाँके, कास्की लगायत १० जिल्लामा सुरु गरिएको छ भने थप जिल्लामा विस्तारको तयारी भइरहेको छ।
नेपाल टेलिकमका प्रिपेड प्याकेजको अवधि २८ दिनबाट ३० दिन पुर्याइएको छ। साथै डेटा प्रयोग सम्बन्धी ‘पे एज यु गो’ प्रणालीमा सुधार गरी ग्राहकलाई विकल्प रोज्ने सुविधा दिइएको छ।
डिजिटल सेवामा सुधार गर्दै नागरिक एपको नयाँ संस्करणमार्फत विभिन्न सरकारी कागजात डाउनलोड गर्ने सुविधा थपिएको छ। साथै ११ हजारभन्दा बढी अवैध सट्टेबाजी एप र वेबसाइट बन्द गरिएको मन्त्रालयले जनाएको छ।
प्रशासनिक सुधारतर्फ ‘शून्य बाँकी फाइल सप्ताह’ सञ्चालन गरिएको छ भने कर्मचारी आचारसंहिता लागू गरिएको छ। रेडियो नेपालमार्फत विभिन्न स्थानीय भाषामा कार्यक्रम प्रसारण सुरु गरी समावेशी सञ्चारलाई प्राथमिकता दिइएको छ।