आईसीसीद्वारा टी–२० विश्वकप २०२६ बाट बंगलादेश बाहिर, स्कटल्यान्डले पायो मौका
काठमाडौँ — अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टी–२० विश्वकप २०२६ बाट बंगलादेशलाई हटाएको छ। बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले भारतमा खेल्न जान अस्वीकार गरेपछि आईसीसीले बंगलादेशलाई प्रतियोगिताबाट बाहिर राख्ने निर्णय गरेको हो।
बीसीबीले लगातार भारतमा खेल्न नजाने अडान लिँदै आफ्ना खेलहरू भारतबाहिर श्रीलंकामा सार्न माग गर्दै आएको थियो। आईसीसीले भने विश्वकप पूर्वनिर्धारित तालिकाअनुसार नै आयोजना हुने स्पष्ट पार्दै आए पनि बंगलादेश आफ्नो निर्णयबाट पछि हटेन।
बिहीबार ढाकामा बीसीबी, राष्ट्रिय टोलीका खेलाडीहरू र सरकारका खेलकुद सल्लाहकारबीच भएको बैठकपछि पनि बंगलादेशले भारतमा टी–२० विश्वकप नखेल्ने अडान कायमै राखेको थियो।
यसअघि बुधबार सम्पन्न आईसीसी बोर्ड बैठकपछि आईसीसीले बीसीबीका सुरक्षा सम्बन्धी चिन्तालाई अस्वीकार गर्दै भारतमा खेल्न अस्वीकार गरे बंगलादेशलाई विश्वकपबाट हटाएर अर्को टोलीलाई अवसर दिने चेतावनी दिएको थियो।
सोही निर्णयअनुसार अब बंगलादेशको स्थानमा स्कटल्यान्डले विश्वकप खेल्ने मौका पाएको छ। स्कटल्यान्ड युरोप छनोट पार गर्न नसक्दा यसअघि विश्वकपमा छनोट हुन सकेको थिएन। तर, बंगलादेश बाहिरिएपछि विश्वकपमा नखेल्ने टोलीहरूमध्ये वरियतामा सबैभन्दा माथि रहेको आधारमा स्कटल्यान्डलाई सहभागी गराइएको हो।
बंगलादेश र भारतबीचको विवाद आईपीएल टोली कोलकाता नाइट राइडर्सले बंगलादेशी खेलाडी मुस्ताफिजुर रहमानलाई टोलीबाट हटाएपछि सुरु भएको थियो। त्यसपछि बंगलादेश सरकारले आईपीएल प्रसारणमा प्रतिबन्ध लगाएको थियो भने बीसीबीले भारतमा विश्वकप नखेल्ने पत्र आईसीसीलाई पठाएको थियो।