एसिसी यू–१९ प्रिमियर कप: नेपाल र यूएई फाइनलमा भिड्दै
अजमान, यूएई — एसिसी पुरुष यु–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा अहिले नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) आमने–सामने छन्। यूएईको अजमानस्थित करवान मैदानमा भएको फाइनलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ र खेलको सुरुवात बलिङबाट गरेको छ।
नेपाल फाइनलमा मलेसियालाई नौ विकेटले हराउँदै पुगेको हो भने यूएईले ओमानलाई आठ विकेटले पराजित गर्दै आफ्नो स्थान पक्का गरेको थियो।
फाइनलमा पुगेको दुवै टोली सिधै एसिया कपमा छनोट हुने प्रावधानअनुसार नेपाल र यूएईले एसिया कपको टिकट पक्का गरिसकेका छन्।
तेस्रो स्थानको लागि सोमबार मलेसिया र ओमानबीच खेल हुने छ। तेस्रो स्थान हासिल गर्ने टोलीले पनि एसिया कपमा स्थान पाउने छ। प्रतियोगितामा कुल १४ टोलीले भाग लिएको थियो।