त्रिवि १० पुसमा ५१औं दीक्षान्त समारोह गर्दै
काठमाडौं, ४ पुस – त्रिभुवन विश्वविद्यालयले आगामी १० पुसमा आफ्नो ५१औं दीक्षान्त समारोह आयोजना गर्ने भएको छ।
शुक्रबार पत्रकार सम्मेलनमा त्रिविले गत शैक्षिक सत्रमा स्नातक, अधिस्नातक, स्नातकोत्तर, दर्शनाचार्य तथा विद्यावारिधि (पीएचडी) तह उत्तीर्ण गर्ने विद्यार्थीहरूलाई दीक्षान्त समारोहमार्फत् सम्मान गर्ने जानकारी दिएको हो।
विश्वविद्यालयका अनुसार २०८१ साल असार १ गतेदेखि २०८२ साल जेठ ३१ गतेसम्मको शैक्षिक सत्रमा ८९ हजार १९९ विद्यार्थीले विभिन्न तह उत्तीर्ण गरेका छन्। त्यसमध्ये १६ हजार ३८० विद्यार्थीले औपचारिक रूपमा दीक्षान्त समारोहमा सहभागिता जनाउन आवेदन दिएका छन्।
स्नातक तहमा ११ हजार २३४, अधिस्नातक तहमा १४, स्नातकोत्तर तहमा ४ हजार ८६०, दर्शनाचार्य तहमा १२० र विद्यावारिधि तहमा १५२ जना विद्यार्थीले सहभागिता जनाउने छन्। साथै, २३ हजार ९८० जना अभिभावक वा संरक्षकले पनि कार्यक्रममा सहभागिता जनाउने आवेदन दिएका छन्।
रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालका अनुसार आमन्त्रित अतिथि तथा अन्य सहभागीहरू समेत गरेर करिब ४२ हजार जनाको उपस्थिति रहने अनुमान छ। यदि यस्तो संख्यामा उपस्थित भए, यो त्रिविको इतिहासमै ठूलो समारोह हुनेछ।
कार्यक्रमका अवसरमा करिब २५ वटा दीक्षान्त पदक र पुरस्कारहरू वितरण गरिने तालिका रहेको र रिजालले जानकारी दिए। साथै, ४९ जना सिनेट सदस्यहरू औपचारिक पोशाक र गाउनसहित समारोहमा उपस्थित हुनेछन्।