नेपाल एपीएफ अस्पतालले ३ सय शय्यासहित सेवा विस्तार, क्यान्सर र हेमोडायलेसिस सेवा सुरु
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा कार्यरत कर्मचारी, पूर्व कर्मचारी, उनीहरूका आश्रित परिवार र सर्वसाधारण नागरिकहरूको स्वास्थ्य सेवा सहज बनाउन नेपाल एपीएफ अस्पतालले तीन सय शय्यासहित सेवा विस्तार गरेको छ। मेडिकल कलेजका लागि आधारभूत संरचना निर्माण कार्य पनि जारी छ।
अस्पतालले पछिल्लो तीन वर्षमा दुई नयाँ माड्युलर अप्रेसन थियटर निर्माण गरेको छ र सहवीर थापा अन्कोलोजी युनिट स्थापना गरी सञ्चालनमा ल्याएको छ। यससँगै क्यान्सर रोगको उपचार सेवा पनि सुरु गरिएको छ।
साथै, इन्ट्रानेट र इन्टरनेट जडित नेपाल एपीएफका सम्पूर्ण कार्यालयहरूमा टेलिमेडिसिन सेवा सञ्चालनमा ल्याइएपछि अस्पतालसम्म आउन नसक्ने बिरामीले पनि सजिलै स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट २०८१ असोजमा तीन सय शय्यासहितको अस्पताल संचालन अनुमति प्राप्त भएपछि सेवा विस्तार गरिएको हो। त्यस्तै, नेपाल सरकारको २०८० पौष २२ गतेको निर्णय अनुसार विपन्न नागरिकका लागि हेमोडायलेसिस सेवा समेत सञ्चालनमा आएको छ।