राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशको मतभार तयार
७ पुस, काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशको प्रदेशगत मतभार निर्वाचन आयोगले तयार गरेको छ। आयोगका अनुसार सुदूरपश्चिम प्रदेशमा कुल ६ हजार १५३ मतभार रहेको छ।
निर्वाचनमा प्रदेशसभा सदस्य, नगरपालिकाका प्रमुख–उपप्रमुख र गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष मतदाता रहन्छन्। प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख–उपप्रमुखको मतभार १९ तोकिएको छ।
सुदूरपश्चिम प्रदेशमा ५३ प्रदेशसभा सदस्य र ८८ स्थानीय तहका प्रमुख तथा उपप्रमुख छन्। यस आधारमा मतभार तयार गरिएको हो।
प्रदेशसभा स्तरमा कांग्रेस १८ सिटसहित सबैभन्दा ठूलो दल रहेको छ। माओवादी केन्द्र र एमाले समान ११–११ सिटमा छन्। नागरिक उन्मुक्ति पार्टी ७, एकीकृत समाजवादी ४, र राप्रपा तथा स्वतन्त्र सदस्य १–१ छन्।
स्थानीय तहमा कांग्रेसका प्रमुख ४० र उपप्रमुख ४६ छन्। एमालेले प्रमुख र उपप्रमुख गरी ५० मतभार पाएको छ भने माओवादी केन्द्र २४ मतभारसहित रहेका छन्।