एनपीएल–२ , आज दुई खेल : विराटनगरलाई पहिलो क्वालिफायरको दबाब, चितवन–पोखराको प्रतिष्ठाको भिडन्त
काठमाडौं — राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा दुई खेल हुने भएका छन्।
पहिलो खेल बिहान ११:१५ बजे सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच हुनेछ। दीपेन्द्रसिंह ऐरीको कप्तानीमा अपराजित यात्रासहित प्लेअफ सुरक्षित गरिसकेको सुदूरपश्चिमका लागि यो खेल औपचारिकता मात्र बनेको छ। अर्कातर्फ सन्दीप लामिछाने नेतृत्वको विराटनगरका लागि भने आजको खेल निर्णायक छ।
विराटनगरले आठ अंकसहित प्लेअफ स्थान बनाइसके पनि पहिलो क्वालिफायरमा पुग्न अनिवार्य रूपमा जीत आवश्यक छ। राम्रो रनरेटसहित विजयी भएमा विराटनगरले सुदूरपश्चिमसँग पहिलो क्वालिफायर खेल्नेछ, अन्यथा उसले लुम्बिनी लायन्ससँग इलिमिनेटर खेल्नुपर्नेछ। त्यसपछि पहिलो क्वालिफायर सुदूरपश्चिम र काठमाडौं गोर्खाजबीच हुनेछ।
दोस्रो खेल दिउँसो ३:३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्सबीच हुनेछ। प्लेअफ दौडबाट दुवै टोली बाहिरिइसकेकाले यो खेल प्रतिष्ठाको लडाइँ मात्र हुनेछ। दुवै टोलीले हालसम्म छ खेलमा चार–चार अंक मात्रै जोडेका छन्।
आजका दुवै खेलले प्लेअफ समीकरणलाई थप रोचक बनाउने अपेक्षा गरिएको छ।