लुम्बिनी लायन्स प्लेअफमा प्रवेश, जनकपुर बोल्ट्स पराजित
काठमाडौं। लुम्बिनी लायन्सले नेपाली प्रिमियर लिग (एनपीएल) २०२५ को दोस्रो संस्करणमा प्लेअफमा पुग्ने चौथो टोली बनेको छ। शुक्रबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा लुम्बिनीले डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै पहिलोपटक प्लेअफमा स्थान बनाएको हो।
जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १३२ रन बनाएको थियो। लुम्बिनीले १९.१ ओभरमा ६ विकेट गुमाएर १३३ रनको लक्ष्य पूरा गर्दै जित हात पारेको थियो। लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाएका थिए भने डार्शी सर्टले ३०, जेजे स्मिथले २१ र निरोशन डिकवेलाले १७ रन योगदान गरे।
खेलमा लुम्बिनीले ओपनर सुमित महर्जनलाई पहिलो बलमै गुमाए पनि डार्शी सर्ट र रोहित पौडेलले दोस्रो विकेटका लागि ६१ रनको महत्वपूर्ण साझेदारी गर्दै इनिङ्स सम्हाले। जनकपुरका मयन यादवले रोहित र सन्दिप जोरा गरी दुई विकेट लिए। बलिङमा लुम्बिनीका शेर मल्ल र कप्तान रोहित पौडेलले २-२ विकेट लिए भने जेजे स्मिथ र रुबेन ट्रम्पल्मयानले १-१ विकेट लिए।
यस जितसँगै प्लेअफमा पुग्ने चारै टोली पक्का भएको छ। यसअघि सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र विराटनगर किंग्सले प्लेअफमा स्थान बनाइसकेका थिए। सुदूरपश्चिम पहिलो क्वालिफायर खेल्नेछन् भने लुम्बिनीले एलिमिनेटर खेल्नेछ। शनिबार हुने सुदूरपश्चिम र विराटनगरको खेलपछि दोस्रो र तेस्रो स्थान पक्का हुने अपेक्षा छ।